भारतस्थित नेपाली राजदूतावासको चरम लापरबाही ,जीवी रोडबाट उद्धार गरिएका ८ नेपाली महिला बेपत्ता
अर्जुन खनाल /ईन्द्रकमल जैरु ,नयाँ दिल्ली
देशमा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तले न्याय पाउन नसकिरहेको अवस्थामा दिल्लीको वेश्यालयबाट निकालिएका ८ जना नेपाली किशोरीहरूलाई बचाउन पनि सरकार विफल भएको छ । भारतस्थित नेपाली राजदूतावासको चरम लापरबाहीका कारण दिल्लीको कुख्यात वेश्यालय जीवी रोडको कालकोठरीबाट उद्धार गरिएका ८ नेपाली किशोरीहरू बेपत्ता भएका छन्। घर पुर्याइदिन भन्दै करिब एक वर्षदेखि हारगुहार गरिरहेका ८ नेपाली किशोरीहरूसहित ९ जना दिल्लीको दिलशाद गार्डेनस्थित संस्कार आश्रमबाट गत १ डिसेम्बरको रातमा ९ बेपत्ता भएका हुन ।
(संस्कार आश्रम)
बेपत्ता भएका नेपाली किशोरीहरूमा १६ वर्षदेखि २२ वर्षसम्मका रहेका छन् । उनीहरू ३ जना नुवाकोटकी, २ जना काभ्रेकी, तेर्हथुम, मकवानपुर र सिन्धुपाल्चोकका रहेका छन्। घटनाको जानकारी पाउने बित्तिकै दिल्ली महिला आयोगले यसको जानकारी दिल्लीका उपमुख्यमन्त्री मनिष सिसौदियालाई दिएको थियो। घटनामा कारबाही गर्दै सिसौदियाले उत्तर-पूर्व जिल्लाका महिला र बाल विकास विभागका अधिकारी र आश्रमका अधिक्षकलाई पदबाट बर्खास्त गरेका छन्। घटनाबारे जीटीबी एन्कलेव पुलिसले मुद्दा दर्ता अनुसन्धान सुरु गरेको छ । त्यही दिल्ली महिला आयोगले भने आश्रमका अधिकारीहरूको मिलेमतोमा वेश्यालयका कोठा सञ्चालकले किशोरीहरूको अपहरण गरेको हुनसक्ने भन्दै विस्तृत अनुसन्धानको माग गरेको छ ।
बेपत्ता हुनुमा दोषी को त ?
किशोरीहरू बेपत्ता हुनुमा सबैभन्दा ठुलो कारण संस्कार आश्रमको व्यवस्थापन र सुरक्षामा कमी भएको बताइएको छ । आश्रमकी एक पूर्व सीडब्ल्युसी सदस्यले यसअघि पनि आश्रमको कार्यशैलीमाथि प्रश्न उठाएकी थिइन । उनले आश्रममा कर्मचारीहरूमा संवेदनशीलताको कमी, किशोरीहरूसँग उचित व्यवहार गर्ने नगरेको र त्यहाँ सुरक्षा व्यवस्था पनि फितलो भएको आरोप लगाएकी थिइन । त्यसैगरि यो मुद्दा हेरिरहेका मानव बेचविखनविरुद्ध काम गर्ने संस्था शक्ति समूहका प्रतिनिधि प्रमोद पोखरेलका अनुसार आश्रममा रहेका नेपाली किशोरीहरूले छिटो घर फिर्ता पठाउन भनिरहेका थिए। भर्खरै गएको भाइटिकामा नेपाल जान नपाएपछि आफूलाई भाइटिका लगाउन किशोरीहरूले भनेको तर आफूले आग्रह गर्दा पनि आश्रमले भेट्न अनुमति नदिएको पोखरेलले बताएका छन्। त्यसैगरि दूतावासलाई पनि पत्राचार गरी नेपाल फिर्ताको लागि वातावरण मिलाउन अनुरोध गर्दा पनि मौन बनेको उनको भनाई छ ।
राजदूतावासको फितलो भूमिका
नेपाली किशोरीहरूको उद्धार गरिएपछि बाल कल्याण समितिले १४ डिसेम्बर २०१७ का दिन उनीहरूलाई परिवारमा भेटाउनका लागि पहल गर्न भन्दै दिल्लीस्थित नेपाली राजदूतावासलाई लिखित पत्र नै पठाएको थियो। त्यसबाहेक नेपाल सरकारको परराष्ट्र मन्त्रालयले आश्रममा रहेका नेपाली किशोरीहरूको ठेगाना थाहा भइसकेको जानकारी गराउँदै १७ श्रावण २०७५ का दिन दिल्लीस्थित नेपाली दूतावासलाई पत्र काटेर घर फिर्ताका लागि पहल गर्न भनेको थियो । तर उनीहरूको ठेगानाका बारेमा स्थलगत जानकारी हुँदा पनि घर पठाउनमा पहलकदमी नगरेकोमा नेपाली दूतावासको गैर-जिम्मेवारी छर्लङ्ग भएको छ । घटनापछि कार्यवाहक राजदूत भरतकुमार रेग्मीलाई सम्पर्क गर्दा उनले घटनाबारे अन्भिज्ञ भएको भन्दै बुझेर जानकारी दिने बताएका छन् । उद्धार गरिएको १ वर्षका क्रममा प्रक्रिया पुर्याएर नेपाल फर्काउन नेपाली दूतावासले लापरबाही गरेकाले किशोरीहरू भाग्न विवश भएको हुन सक्ने मानव बेचविखनविरुद्ध काम गर्ने संस्थाका प्रतिनिधिहरूको बुझाई छ ।
कहिले गरिएको थियो उनीहरुलाई उद्धार ?
राज्यमा व्याप्त गरिबी, बेरोजगारी र विभिन्न किसिमका प्रलोभनमा परि नेपाली किशोरी दिदीबहिनी विदेशका वेश्यालयमा पुग्न बाध्य छन्। यस्तै विभिन्न बहानामा ल्याइएका कम उमेरका किशोरीहरू जीवी रोडका कोठा नम्बर ६४ र ५६ मा रहेको जानकारी पाइएपछि दिल्ली महिला आयोगले क्राइम ब्राांचको सहयोगमा २४ र २५ नोभेम्बर २०१७ का दिन २ पटक छापा हानेर १७ जनाको उद्धार गरेको थियो । त्यस मध्ये १४ जना नेपाली किशोरी थिए । उनीहरूलाई उद्धार गरिएपछि उनीहरूको आफन्तलाई बुझाउनका लागि भन्दै तत्कालका लागि सरकारी महिला आश्रय गृह (नारी निकेतन र निर्मल छाया कम्प्लेक्स) मा राखिएको थियो । त्यसपछि उनीहरूलाई क्याटेलिस्ट नामक आश्रय गृहमा राखिएको थियो । त्यस क्रममा क्याटेलिस्ट आश्रय गृहबाटनै ४ किशोरीहरू बेपत्ता भएका थिए । उनीहरूको आजसम्म पत्तो लागेको छैन । बाँकी रहेका १० जना मध्ये 2 जनालाई कोर्टको माध्यमबाट आफन्तलाई बुझाइएको थियो भने ८ किशोरीहरूलाई गत ४ मई २०१८ का दिन संस्कार आश्रममा पठाइएको थियो। गत १ डिसेम्बरको रातमा उनीहरू बेपत्ता भएका हुन।
You may be interested

भारतबाट उद्धार गरिएका १७९ नेपाली काठमाडौँ ल्याइयाे
विशाल पाण्डेय - २०७५, ९ फाल्गुन ०९:००काठमाडौँ । भारतकाे मणिपुर हुँदै अवैध तवरबाट तेस्रो मुलुकतर्फ लैजाने क्रममा उद्धार गरिएका १७९ जना काठमाडौँ ल्याइपुर्याइएकाे छ । मङ्गलबार…

अझै खुलेन नौ महिनादेखि बन्द रहेको मलेसिया रोजगार
विशाल पाण्डेय - २०७५, ९ फाल्गुन ०८:५२काठमाडौँ । नौ महिनादेखि बन्द रहेको मलेसिया रोजगार अझै खुल्न सकेको छैन । भेन्डर परिवर्तन गर्ने विषयमा नेपाल र मलेसियाबीच…

निर्मला प्रकरणले अन्तर्राष्ट्रिय तहमै अपमान : प्रधानमन्त्री ओली
विशाल पाण्डेय - २०७५, ९ फाल्गुन ०८:४२कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त हत्या प्रककरणले अन्तर्राष्ट्रिय तहमै नेपालको अपमान भएको बताएका छन् । घटनाको गहिरो…