नेपाली काँग्रेस रुपन्देहीद्वारा उत्साहका साथ उम्मेदवारी दर्ता - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

नेपाली काँग्रेस रुपन्देहीद्वारा उत्साहका साथ उम्मेदवारी दर्ता



बुटवल, ४ असार ।

यहि असार १४ गते हुने स्थानीय तहको निर्वाचनकालागि नेपाली काँग्रेसले रुपन्देहीका १६ वटै स्थानीय तहमा उत्साहका साथ उमेद्वारी दर्ता गराएको छ । रुपन्देही जिल्लामा एक उपमहानगरपालिका, ५ वटा नगरपालिका र १० वटा गाउँ पालिका छन् । जस मध्ये बुटवल उपमहानगरपालिका र देवदह नगरपालिकामा नकपा माओवादी केन्द्रसंग चुनावी तालमेल गरी सोही अनुसार उम्मेदवारी दर्ता गरिएको नेपाली काँग्रेस रुपन्देही निर्वाचन प्रचारप्रसार समन्वय समितिका संयोजक विश्वेश्वरप्रसाद बस्यालले जानकारी दिनुभयो । बुटवल उपमहानगर पालिकामा मेयर पदमा नेपाली काँग्रेसको तर्फबाट खेलराज पाण्डे र उपमेयरमा माओवादी केन्द्रको तर्फबाट जगतबहादुर पोखरेलले उम्मेदवारी दर्ता गराउनु भएको छ । उहाँहरुले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराउनु भएको हो । त्यस्तैगरी माओवादी केन्द्रसंगै तालमेल भएको देवदह नगरपालिकामा मेयर पदमा नेपाली काँग्रेसको तर्फबाट हिराबहादुर खत्री र उपमेयरमा माओवादी केन्द्रको तर्फबाट टीका न्यौपाने (गौतम)ले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

नेपाली काँग्रेसले तिलोत्तमा नगरपालिकामा राष्ट्रिय जनमुक्ति पार्टीसंग चुनावी तालमेल गरेको छ । तिलोत्तमा नगरपालिकामा मेयर पदमा नेपाली काँग्रेसको तर्फबाट रामकृष्ण खाँण र उपमेयरमा राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट गीता सारुले उम्मेदवारी दर्ता गराउनु भएको छ । तिलोत्तमा नगरपालिकामा दुई पार्टीको चुनावी तालमेल भएपनि चुनाव चिन्ह भने दुबै पार्टीको एउटै रुख हुने सहमति गरिएको र सोही अनुसार उम्मेदवारी दर्ता गरिएको नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. ३ का सभापति प्रेमबहादुर फौदारले बताउनु भयो ।

त्यस्तैगरी जिल्लाको पुरानो नगरपालिका सिद्धार्थनगर नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट मेयर पदमा मात्रिकाप्रसाद यादव र उपमेयरमा माधवी शर्मा वाग्लेले उम्मेदवारी दर्ता गराउनु भएको छ । त्यस्तै सैनामैना नगरपालिकामा मेयर पदमा पार्टीको तर्फबाट फणेन्द्र शर्मा वाग्ले र उपमेयरमा लक्ष्मी चौधरीले उम्मेदवारी दर्ता गराउनु भएको छ । त्यस्तै जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने, गौतम बुद्धको जन्मस्थल लुम्बिनी सांस्कृतिक नगरपालिकामा मेयर पदमा मोहम्मद सईद खाँ र उपमेयरमा रमावती यादवले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
त्यस्तैगरी सियारी गाउँपालिकाको प्रमुखमा थानेश्वर घिमिरे र उपप्रमुखमा रीता चौधरी, सुद्धोधन गाउँपालिकामा प्रमुखमा भगवतीप्रसाद चौधरी र उपप्रमुखमा रामेश्वरी सिंह, ओमसतीया गाउँपालिकामा प्रमुखमा महेन्द्रप्रसाद चौधरी र उपप्रमुखमा मीना भण्डारी, कञ्चन गाउँपालिकामा प्रमुखमा डोलबहादुर थापा र उपप्रमुखमा तीर्थकुमारी थारु, कोटरीमाई गाउँपालिकामा प्रमुखमा बिदेन्द्र जैसवाल र उपप्रमुखमा सम्पत्ती यादवले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

त्यस्तै गैडहवा गाउँपालिकामा प्रमुखमा वसीउल्लाह मुसलमान र उपप्रमुखमा मञ्जु न्यौपाने, मर्चवारी गाउँपालिकामा प्रमुखमा ज्ञानप्रकाश मिश्र र उपप्रमुखमा श्रीकान्ति बरई, मायाँदेवी गाउँपालिकामा प्रमुखमा ध्रुवनारायण चौधरी र उपप्रमुखमा कान्ति यादव, रोहिणी गाउँपालिकामा प्रमुखमा अकवाल खाँ र उपप्रमुखमा चन्द्रवती देवी योगी तथा समरीमाई गाउँपालिकामा प्रमुखमा बिनोद श्रीवास्तव र उपप्रमुखमा प्रियंका सिंहले उम्मेदवारी दर्ता गराउनु भएको छ । त्यसबाहेक सबै नगरपालिका र गाउँपालिकाका वडाहरुमा पनि पार्टीले उम्मेदवार तय गरेका व्यक्तिले उत्साहका साथ उम्मदेवारी दिएका छन् । विभिन्न वडाहरुमा दलहरुले वडा स्तरमा समेत दलीय तालमेल गरेका छन् ।