नेपाली काँग्रेसले गर्यो दिल्लीमा विधान संशोधन सुझाव सङ्कलन एवं प्रशिक्षण कार्यक्रम - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नेपाली काँग्रेसले गर्यो दिल्लीमा विधान संशोधन सुझाव सङ्कलन एवं प्रशिक्षण कार्यक्रम



इन्द्रकमल जैरु /नयाँ  दिल्ली 

भारतको राजधानी दिल्लीमा नेपाली काँग्रेसको विधान संशोधन सुझाव सङ्कलन एवं कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाली जनसम्पर्क समिति उत्तर भारत समितिको आयोजना र नेपाली काँग्रेस बाजुरा दिल्ली सम्पर्क समितिको व्यवस्थापनमा सम्पन्न कार्यक्रमको सभापतित्व नेपाली काँग्रेस बाजुरा-दिल्ली सम्पर्क समितिका अध्यक्ष रतन शाहीले गर्नु भएको थियो ।

समारोहमा नेपाली काँग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्य बद्री प्रसाद पाण्डे प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो । समारोहमा बोल्दै राष्ट्रियसभा सदस्य बद्री प्रसाद पाण्डेले वर्तमान प्रधानमन्त्री केपी ओली असहिष्णू भएको आरोप लगाउनु भएको छ । निर्वाचन जित्दा देखिनै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पद छाडेनन् भन्दै प्रधानमन्त्री ओलीले असहिष्णुता देखाउँदै आएको बताउनु भयो । अहिले प्रधानमन्त्री ओलीको असहिष्णुताका कारण स्वयमकै पार्टी नेकपाका नेताहरूले विरोध गर्न थालेको आरोप लगाउनु भयो । उहाँले बलात्कार, महिला हिंसा, मूल्यवृद्धि लगायतका मुद्दा उठाउँदै वर्तमान सरकारको आलोचना गर्नुभयो । त्यसै गरी समारोहमा विशेष अतिथिका रूपमा उपस्थित नेपाली जनसम्पर्क समितिका अध्यक्ष एवं केन्द्रीय आमन्त्रित सदस्य बालकृष्ण पाण्डे, नेजस उत्तर भारत अध्यक्ष कृष्ण पाण्डे, नेजस उत्तर भारत समिति महासचिव रुद्र मल्ल, तरुण दल भारतका  महासचिव नागेन्द्र जोशी, नेविसंघ भारतका अध्यक्ष अम्बिका जोशी लगायतले पनि मन्तव्य राखेका थिए ।

तरुण दल गाजियाबाद समिति अध्यक्ष गोरख विष्टले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन भने नेपाली काँग्रेसस बाजुरा दिल्ली सम्पर्क समितिका महासचिव खगेन्द्र सिंहले गर्नु भएको थियो। समारोहमा नेजस उत्तर भारतका उपाध्यक्ष अर्जुन धरेल, तरुण दल उत्तर भारतका अध्यक्ष एलपी पाण्डे, नेवि सङ्घ दिल्लीका अध्यक्ष सागर शाही लगायत काँग्रेस समर्थक प्रवासी नेपालीहरूको उपस्थिति रहेको थियो ।