नेपाली काँग्रेस कमजोर भए प्रजातन्त्र कमजोर हुन्छ - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

नेपाली काँग्रेस कमजोर भए प्रजातन्त्र कमजोर हुन्छ



काठमाडौं। प्रजातन्त्र कमजोर हुँदै गएको भन्दै यसलाई बलियो बनाउनका लागि काँग्रेस बलियो हुनुपर्ने बताइएको छ ।

नेपाली काँग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समिति र नेवि संघ लमजुङ–काठमाडौँ सम्पर्क समितिले नयाँ वर्षको अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली काँग्रेसका नेता दिलबहादुर घर्तीले प्रजातन्त्रलाई कमजोर पार्ने खेल भएकाले यसलाई जोगाउन सबै एकजुट हुनुपर्ने बताउनुभयो । “नेपाली काँग्रेस कमजोर भए प्रजातन्त्र कमजोर हुन्छ,”– उहाँले भन्नुभयो ।

काँग्रेस पूर्वकेन्द्रीय सदस्य घर्तीले वाम गठबन्धनका कारण काँग्रेसले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा पराजय भोगेकाले संगठन निर्माणमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।

पूर्वराज्यमन्त्री रामबहादुर गुरुङले काँग्रेस आन्तरिक कारणले हारेको भन्दै विगतमा भएका कमी कमजोरीलाई सच्याएर काँग्रेसलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । पूर्वसहायकमन्त्री रामचन्द्र अधिकारीले काँग्रेसलाई बलियो बनाउनका लागि सबै आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा लमजुङ–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष लक्ष्मीकान्त पौडेल, काँग्रेस लमजुङका पूर्वपार्टी सभापति तुलसीनारायण श्रेष्ठ, नेता नवराज न्यौपानेलगायतले पार्टीभित्र देखिएको गुट उपगुट अन्त्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।