नेपाली काङ्ग्रेस बेलौरीद्बारा बिकास निर्माण कार्यमा अनुगमन तथा खबरदारी - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

नेपाली काङ्ग्रेस बेलौरीद्बारा बिकास निर्माण कार्यमा अनुगमन तथा खबरदारी



माधव पौडेल / बेलौरी,कञ्चनपुर ।

नेपाली काङ्ग्रेस बेलौरी खबरदारी तथा पैरवी समितिले आजबाट बेलौरी नगरपालिकामा अनुगमन थालेको छ । छाँया सरकारका रुपमा समेत रहेको नेपाली कांग्रेशले बेलौरी नगरपालिका भित्र यस चालु आर्थिक भित्र भए गरेका विकास निर्माणका कार्यहरुको निगरानी गर्दै अनुगमन थालेको हो ।

नेपाली कांग्रेश बेलौरी खबरदारी तथा पैरवी समितिका संयोजक हरेन्द्र सिंह बिष्ट, नेपाली कांग्रेशका जिल्ला सदस्य प्रकाश राज पन्त, नगर सभापति रामलाल राना, नगर सचिव विक्रम चन्द, कांग्रेशका स्थानीय नेता कार्यकर्ता र पत्रकारको संयुक्त अनुगमन टोलीले आज बेलौरी नगरपालिका वडा नम्बर १ मा अनुगमन गरेको छ ।

अनुगमनका क्रममा पुनर्वास र बेलौरी नगरपालिकाको सीमा क्षेत्रमा सीमा बजेट अन्तर्गत ८ लाख ६२ हजार रकममा ढलनिकासमा कमजोरी रहेको पाइएको छ । ढुंगा चिनाईमा सजिलै हातले उप्कने भएकाले त्यस प्रति अनुगमन समितिले आपत्ती जनाएको छ । यस विषयमा बेलौरी नगरपालिकाका प्रविधिक नरेन्द्र चन्दसंग सोधपुछ गर्दा उक्त काम हिजो मात्रै गरिएकोले सुक्नका लागि कम्तीमा एक महिना जति लाग्ने र त्यसपछि बलियो हुने प्रतिक्रिया दिनुभयो ।

त्यस्तै, खबरदारी तथा पैरवी समितिले अनुगमन गरिरहँदा स्थानीय नागरीकहरुले भारतीय एसएसबीको ज्यादती कायमै रहेको गुनासो गरेका छन् । सीमावर्ती भारतीय बसही बजार संग जोडिएको नेपाली भूमि मै बाटो खन्ने कार्यमा भारतीय एसएसबीले अबरोध गर्ने गरेको स्थानीयले बताएका छन् । बेलौरी नगरपालिका वडा नम्बर १ का स्थानीय एवं नेपाली कांग्रेशका लब बहादुर शाहीले नगरपालिकाको बजेटलाई जनप्रतिनिधिहरुले कमाइखाने भाँडो बनाएको आरोप लगाउनु भयो । उहाँले वडामा भएगरेका कामको प्रगतिविवरण सबै वडाबासी माझ राख्नुपर्नेमा जोड दिनुभयो ।

जनप्रतिनिधिले गरेका राम्रो कामलाई नेपाली कांग्रेशको पूर्ण समर्थन रहने र नराम्रा कामहरुको कडा रुपले खबरदारी गर्ने नेपाली कांग्रेश बेलौरी खबरदारी तथा पैरवी समितिका संयोजक हरेन्द्र सिंह बिष्टले चेतावनी दिनुभयो ।

त्यस्तै नेपाली कांग्रेश बेलौरी खबरदारी तथा पैरवी समितिले बेलौरी नगरपालिकाका १० वटै वडामा अनुगमन गर्ने नेपाली कांग्रेश बेलौरीका नगर सचिव विक्रम चन्दले बताउनुभयो । यसैबीच, सीमा क्षेत्रमा चोरीपैठारी समेत बढेकोले गस्ती बढाउन प्रहरी चौकी फटियाका इन्चार्ज पदम भण्डारीलाई आग्रह गरिएको नेपाली कांग्रेश बेलौरीका नगर सभापति रामलाल रानाले बताउनु भयो ।