सरकारी दस्तावेजमै नेपालको १०,०१९ वर्ग किमि भूमि गायव ! - Himal Post Himal Post
  • ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
Logo

सरकारी दस्तावेजमै नेपालको १०,०१९ वर्ग किमि भूमि गायव !



नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर छ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको तथ्यांकमा भने १ लाख ३७ हजार १ सय ६२ दशमलब ०३५ वर्गकिमि मात्र पाइएको छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सन्तोष आचार्य, दीपक न्यौपाने र विजयप्रसाद शर्माले लेखेका छन्।

कहाँ हरायो १० हजार १८ दशमलब ९६५ वर्गकिमि? गायब भएको भूमि करिब १४ वटा सिंगापुरजति हुन आउँछ। सुन्दै पत्याउन गाह्रो । तर यो वास्तविकता हो।

मन्त्रालयको संघीय मामिला शाखाद्वारा असोज २०७४ मा प्रकाशित ‘गाउँपालिका तथा नगरपालिकाको संक्षिप्त परिचय’ पुस्तिका तपाईं पनि पल्टाउनुहोस् । त्यसमा नेपालको ७ सय ५३ वटै स्थानीय तहबारे पूर्ण जानकारी समेटिएको छ । त्यसमा हरेक स्थानीय तहका क्षेत्रफल, जनसंख्यालगायत तथ्यांक राखिएका छन्।

हामीले हरेक स्थानीय तहका क्षेत्रफल जोड्यौं । सबैको योगफल आयो– १ लाख ३७ हजार १ सय ६२ दशमलब ०३५ वर्गकिमि मात्र। नेपालको क्षेत्रफल ती सबै स्थानीय तहका क्षेत्रफलको योग हो । यति ठूलो मात्रामा अपुग हुँदा निःसन्देह प्रश्न उठ्छ– बाँकी भूभाग खोइ त?

अपत्यारिलो यो अवस्था देखिएपछि हामीले पुस्तकको आधिकारिकता परीक्षण गर्‍यौं । त्यो संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नै प्रकाशन गरेको पाइएको छ।

उक्त पुस्तिकामा तत्कालीन उप–प्रधानमन्त्री एवं विभागीय मन्त्री विजयकुमार गच्छदारको शुभकामना मन्तव्य छापिएको छ । त्यसैगरी राज्यमन्त्री जनकराज चौधरी, सचिव दिनेशकुमार थपलिया र सहसचिव डा.हरि पौडेलले पनि आफ्ना शब्द राखेका छन् । उनीहरूको हस्ताक्षरसहित उपलब्ध यस परिचय पुस्तिाको आधिकारिकतामा अब शंकै रहेन।

जीआईएस नक्सा सामेल गरी बनाइएको उक्त पुस्तिकामा देखिएको त्रुटि के सामान्य हो? अब यो प्रश्नको जवाफ पक्कै पेचिलो बन्दै जानेछ। आधिकारिक पुस्तिकामा देखिएको यस्तो अवस्थाले आम मानिसको भावनामा पर्न जाने चोटको जवाफदेही हुने निकाय को होला? प्रश्न उठ्छ– के हामीले आफ्नो भूमि वास्तविकतामै गुमाइसक्यौं? होइन भने कहाँ घट्यो।

हामीले हरेक प्रदेशका हिसाबले पनि उक्त पुस्तिकाको तथ्यांक विश्लेषण गर्‍यौं । प्राकृतिक स्रोत तथा वित्त आयोगबाट प्राप्त प्रदेशका क्षेत्रफलसँग तुलना गर्‍यौं । हरेक प्रदेशमा क्षेत्रफल घटेकै पाइयो।

सबैभन्दा धेरै प्रदेश ५ मा र दोस्रोमा कर्णालीमा भूभाग हराएको छ । घटेको क्षेत्रफल प्रदेश १ मा ७७१.६१, २ मा ७६६.७२, ३ मा ६७९.१७५, गण्डकीमा ३४५.२१, ५ मा ४३६५.६३, कर्णालीमा २७३१.२३ र सुदूर पश्चिम प्रदेशमा ३५९.३९ वर्गकिमि छ । हरेक प्रदेशमा यति ठूलो मात्रामा क्षेत्रफल कसरी घट्यो? प्रश्न अनुत्तरित छ।

सरकारले गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सिमाना निर्धारण आयोगको प्रतिवेदन एवं मन्त्रिपरिषद्बाट विभिन्न मितिमा गठन भएका पुनरवलोकन समितिका सिफारिसका आधारमा ७ सय ५३ स्थानीय तह निर्धारण गरेको थियो।

तिनमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका छन् । जनसंख्या बदलिन्छ तर क्षेत्रफल कसैसँग लेनदेन नहुन्जेल कहिल्यै बदलिँदैन । तर, हाम्रै २ नम्बर प्रदेशभन्दा ठूलो जमिन कहाँ, कसरी बिलय भयो?