३ सय ३५ नेपाली विदेशी जेलमा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

३ सय ३५ नेपाली विदेशी जेलमा



काठमाडौं । परराष्ट्र मन्त्रालयको विनियोजित बजेटमाथि प्रतिनिधि सभामा सांसदहरुले उठाएको प्रश्न दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशका जेलमा रहेका नेपालीहरुबारे जानकारी दिएका छन् । विभिन्न देशका जेलहरुमा ३ सय ३५ नेपाली रहेको जानकारी उनले दिएका छन् । विदेशस्थित विभिन्न अस्पतालमा २० जना नेपाली कोमामा रहेको उनले बताए ।

ज्ञवालीले बताए अनुसार सबैभन्दा धेरै साउदी अरेबियाको जेलमा २१९ नेपालीहरु जेलमा रहेका छन् । उनले भने “यूएईमा ६३ र बैंककमा ३९ जना नेपाली जेलमा छन् । बहराइनमा ९, सिंगापुरमा ४, चीनमा ३, इजरायल र ओमानमा २र२ तथा कम्बोडिया र लेबनानको जेलमा १–१ जना नेपाली रहेका छन् ।” मृत्युदण्ड सजाय पाएकाहरुलाई आजीवन कैद र गलत आरोपमा जेल परेकाहरुलाई आममाफी दिएर छुटाउन सरकारले पहल गरिरहेको जानकारी ज्ञवालीले दिए ।

कोमामा रहेका नेपालीहरुको बारेमा सम्बन्धित देशमा रहेका नेपाली दूतावासहरुले उनीहरुको उपचारबारे चासो राख्दै आएको उनले बताए ।

कोमामा रहेकाहरु मध्य सबैभन्दा धेरै कतारमा ११ जना छन् । त्यस्तै साउदी अरेबियामा ५ जना, बहराइन र यूएईमा २–२ जना नेपाली कोमामा छन् ।