अब नेपाली कामदार शून्य लागतमा यूएई जान पाउने - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

अब नेपाली कामदार शून्य लागतमा यूएई जान पाउने



काठमाडौं -नेपाली कामदारका लागि आकर्षक गन्तब्य मानिने यूएईसँग नयाँ श्रम समझदारी गर्ने सहमति भएको छ । बुधबार र बिहीबार दुई दिन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारी र यूएईबाट आएको प्राविधिक टोलीबीच भएको छलफलबाट दुई मुलुकबीच श्रम समझदारी गर्ने सहमति भएको हो । १२ वर्ष पुरानो श्रम समझदारीलाई खारेज गर्न दुबै मुलुक सहमत भएका हुन् ।

नयाँ समझदारीको मस्यौदामा दुबै मुलुकका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । मस्यौदामा नेपालबाट कामदार जाँदा शून्य लागतमा जान पाउने, म्यानपावरको सेवा शुल्क पनि रोजगारदाताले नै व्यहोर्ने, बीमाको व्यवस्थासहित सामाजिक सुरक्षाको पनि ग्यारेण्टी हुने व्यवस्था रहेको श्रम मन्त्रालय स्रोतले जनाएको छ । साथै करारपत्र कस्तो हुने भन्ने विषयमा पनि दुई देशबीच सहमति जुटेको छ ।

नयाँ समझदारीमा काममा रहँदाको बीमा र स्वाथ्य बीमा हुने प्रावधान राखिएको छ । कामदारको लापरवाहीका कारणले हुने दुर्घटना बाहेक अरु दुर्घटना काममा रहँदाको बीमाले समेट्ने छ ।

समझदारीको मस्यौदालाई दुबै देशको मन्त्रिपरिषद बैठकले पारित गरेपछि मन्त्रिस्तरमा हस्ताक्षर हुने श्रम मन्त्रालयले जनाएको छ ।

यूएईसँग यसअघि २००७ मा श्रम समझदारी भएको थियो ।

नेपालले मलेसिया र जापानसँग पनि श्रम सम्झौता गरिसकेको छ भने कतार र ओमानसँग पनि सरकारले श्रम समझदारी गर्ने तयारी गरिरहेको छ ।