राजनीतिको सिकार बन्दै नेपाल प्रहरी !
काठमाडौं : केही समयदेखि प्रहरी सङ्गठनले गरेका अनुसन्धान तथा कामकारबाही शंकाको घेराभित्र परेकाले तिनको खुलेर नै विरोध हुँदै आएको छ। ३३ किलो सुन प्रकरण, जुम्लामा डाक्टर गोविन्द केसीको अनशनमा गरिएको झुटो माइकिङ, भक्तपुरको इन्काउन्टर र कञ्चनपुरमा बलात्कार-हत्या काण्ड प्रहरीको विश्वासनीयतामा प्रश्न उठाउने पछिल्ला घटनाक्रम हुन्।
कञ्चनपुरमा भइरहको घटना प्रहरीका लागि चुनौतीको विषय बन्ने निश्चित छ। प्रहरीले अपराधी भनेर सार्वजनिक गरेको व्यक्तिलाई नै स्थानीयले विश्वास गरेका छैनन्। त्यसकै विरोधमा उत्रिएका माथि गोली प्रहार भएको छ। हिजोमात्र १४ वर्षका एक बालक प्रहरीको गोलीबाट मारिएका छन्। निर्मला बलात्कार-हत्या प्रकरणमा सुरुदेखि नै संदेहपूर्ण भूमिकामा रहेको प्रहरीमाथि स्थानीय त्यतिखेर आक्रोसित भए जतिखेर प्रहरीले एक मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई बलात्कारी र हत्यारा भन्दै समातेर अनुसन्धानलाई मोड्न खोज्यो। त्यसयता कञ्चनपुर तनावग्रस्त छ। कर्फ्यू बाहेकको समयमा अशान्त पनि।
कञ्चनपुर काण्ड प्रहरीको विश्वसनीयता क्षय हुने घटनाको एउटा पछिल्लो उदाहरणमात्र हो। समाजको सुरक्षा र अपराध अनुसन्धानका लागि खटिएको प्रहरीमाथि नै शंका उव्जिनु समाजको लागि डरलाग्दो विषय हो। विश्वसनीयता कायम राख्न नसक्ने अवस्थामा प्रहरी पुग्नु प्रहरी संगठनमात्र होइन राज्यकै लागि दुर्भाग्यपूर्ण अवस्था निम्तिनु हो।
पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल यस्तो अवस्था आउनुमा राजनीति दोषी भएको बताउँछन्। प्रहरी सङ्गठनमा राजनीति हावी हुँदा सङ्गठन चाहिँ कमजोर हुँदै गएको उनको बुझाइ छ। खरेलले एक अनलाईनसंग भनेका छन् , ‘संसारभर नै नभएको राजनीतिक प्रहरी सङ्गठनमा भएको छ। राजनीतिको असर यसरी देखिँदैछ।’
एउटा सामान्य गुन्डादेखि कुनै पनि खालेअपराधी समात्न समेत प्रहरीले उसको राजनीतिक पृष्ठभूमि हेरेर मात्र काम गर्नुपर्छ भने प्रहरीको विश्वास कसरी हुन्छ त? खरेल प्रश्न गर्छन्।
भक्तपुरमा प्रहरीको इन्काउन्टर बारे ठूलै चर्चा भयो। स्थानीयले आँखाकै अगाडि कोठाबाट दुई युवकलाई उठाएर प्रहरीले लगेको बताउँदा पनि त्यसको छानविनसमेत गर्न सरकारलाई चासो लागेन। बरु गृहमन्त्रीले नै सार्वजनिक कार्यक्रममा भक्तपुरको इन्काउन्ट फेक नभएको भन्दै बचाउमात्र गरे। प्रहरी सङ्गठन सरकारको एउटा अङ्ग भएकाले सरकारका गतिविधि प्रहरी सङ्गठनमा पनि देखिने पूर्व महानिरीक्षक खरेल बताउँछन्। भन्छन्, ‘पुलिस सङ्गठनको मूल सरकार हो। सरकार कति कर्तव्यनिष्ट, विश्वासिलो छ, कसरी काम गरिरहेको छ त्यसको असर सङ्गठनमा पर्छ। मूल बलियो भयो भने मात्र त्यसका निकायहरू शक्तिशाली हुने हुन्। मूल कमजोर भयो भने अन्य संगठन नै कमजोर हुन्छन्। मूल फोहोर भएपछि धाराबाट सफा पानी आउँछ भनेर अपेक्षा गर्न मिल्दैन। फोहोर पनि यति भयो कि पचाउनै नसक्ने भएको छ।’
प्रहरीको काम, क्षमता र योगदान भन्दा पनि राजनीतिक कारणले बढुवा, सरुवा हुने गरेकाले प्रहरी काममा भन्दा पनि नेता रिजाउन लागेको खरेलको बुझाइ छ। ‘हाम्रो समयमा त एसपी, एसएसपी हुँदा खेरी नै को महानिरीक्षक हुने थाहा हुन्थ्यो। उसको कामले उ कहाँसम्म पुग्छ भनेर देखाउँथ्यो। तर, अहिले जो बुढानिलकण्ठ, खुमलटार, बालकोट लगायत स्थान धाउन सक्छ, उही हुन्छ। अनि सङ्गठनमा कसरी काम होस् त?,’ खरेलले भने।
प्रहरी पनि समाजबाटै आउने भएकाले समाजलाई वेवास्था गर्नु भूल हुने उनको बुझाइ छ। खरेल आफैँ पब्लिकको भनाई झुटा नहुने दावी गर्छन्। प्रहरी काममा भन्दा सेलिब्रेटी बन्ने चक्करले पनि संगठनमा प्रभाव पर्दै गएको खरेलको भनाइ छ।
प्रहरी जनताको भरोसाका लागि हुनुपर्ने हो। तर पछिल्ला घटनाक्रमले प्रहरीको क्षयीकरणमात्र भइहरेको छ। यसलाई समयमा नै रोक्न नसक्ने हो भने यो संगठनमात्र अविश्वसनीय हुने होइन, मुलुक नै असफल हुने बाटोमा पुग्नेछ।