नेपालमा हलिउड स्तरको फिल्म बनाउदै निर्देशक देव नेपाल - Himal Post Himal Post
  • ४ कार्तिक २०८१, आईतवार
  •      Sun Oct 20 2024
Logo

नेपालमा हलिउड स्तरको फिल्म बनाउदै निर्देशक देव नेपाल



काठमाडौं ।।
नेपाली चलचित्र संसारमा आफ्नो बेग्लै पहिचान बनाउँदै थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित निर्देशक एवम् चलचित्र लेखक देव नेपाल अर्को ऐतिहाँसिक चलचित्र निर्माणमा जुटेका छन् ।

म्यारोन मुभिस एण्ड इन्टरटेनमेन्टको ब्यानरमा नेपाली , जापानिज र अंग्रेजी भाषामा एकसाथ बन्न लागेको चलचित्रले नेपाली जनजीविका र यथार्थ अवस्थालाई चित्रण गर्ने निर्देशक नेपालले जानकारी गराएका छन् ।

करिब डेढ करोडको लागतमा बन्न लागेको चलचित्रलाई अन्तरास्ट्रिय बजार पुर्याउदै नेपाली फिल्म यस्तो सम्म बन्न सक्छ भन्ने उदाहारण विश्वसामु पुराउने लक्ष्य आफ्नो रहेको उनले बताए । थुप्रै सम्भावनाका बीच पनि बेरोजगारी र भोकमरीले आक्रान्त पश्चिम नेपालको कर्णाली अञ्चलमा फिल्मको छायांकन गरिने निर्माण समूहले बताएको छ ।

नेपाल मै भएर पनि नेपालीपनको अनुभव गर्न नपाएका हिमालपारिका नेपालीको कथालाई पनि चलचित्रमा समावेस गरिने निर्देशक नेपालले जानकारी गराए । तर उहाँले चलचित्रको नाम र कलाकार को को हुने ? भनेर उनले अहिले नै खुलाउन चाहेनन् । बुझिए अनुसार चलचित्रको विश्वकै सबैभन्दा उच्चस्थानमा रहेको मानव बस्तीमा समेत छायाँकन गरिने छ । र फिल्म हलिउड लेवलको निर्माण गरिने दावी निर्देशक नेपालको रहेको छ ।

हलिउड स्तरको फिल्म बनाउने तयारी गरिरहेका निर्देशक देव नेपाल को हुन् त ?

नेपाली चलचित्र उद्योगमा निर्देशकीय हिसाबले अलग पहिचान स्थापित गराउन सफल निर्देशक हुन् – देव नेपाल । करिब दुई दशक अगाडि सानो पर्दा संगै स्टेजमा राम्रो क्रेज बनिरहेको बखत अझ आफुमा निखारता र नयाँपनको खाँचो महसुस गर्दै थिएटर सम्बन्धि कोर्ष गर्न उनि दिल्ली होमिए । तीन बर्षे नाट्य शास्त्रको कोर्ष गर्दै गर्दा दिल्लीमा थुप्रै नाटक को निर्देशन पनि गर्न भ्याए, उनले ।

नाटक निर्देशन संगै लेखन र अभिनयमा पनि उनि उत्तिकै अब्बल थिए । सोहि कारण उनले लेखेका थुप्रै नाटक दिल्ली का थिएटरहरुमा महिनौं सम्म मञ्चन हुन्थे । दिल्ली सहित बैंगलोर, मुम्बई हुदै बिहार सम्म नाटक मञ्चन गर्दै स्टेज हरुमा पुगे, उनि ।

तीन बर्षको अवधिमा अभिनय ,लेखन र निर्देशनको थुप्रै सैद्धान्तिक अनि व्यवहारिक सीप सिक्ने अवसर पाएको निर्देशक नेपाल बताउछन । कला , मनोरंजन अनि गीत संगीत र अभिनयको हिसाबले दिल्लीमा स्थापित हुनु चानचुने कुरा पनि थिएन । त्यसमाथी दिल्ली हानिनु अघि संगै काम गरेका केहि सहपाठीहरु नेपालमा बिस्तारै चिनिने लेभलको पहिचान स्थापित गराउन सफल भईसकेका थिए । नाट्यशास्त्रको कोर्ष पनि सकियो र उनि पनि होमिए नेपाली चलचित्र र रंगमन्चको दुनियामा आफ्नै पहिचान स्थापित गराउन ।

नेपाल फ़र्किएपछिका केहि महिना उनका लागि सारै नै नमिठो र बिर्सनै नसकिने भएको उनि बताउछन । त्यो समय उनीसंगै दिल्ली जानुपुर्बका स्टेज सेयर गरेका सहपाठीहरू आफै टेलिभिजनमा शो गर्न थालिसकेका थिए । केहि निकट व्यक्तिहरुको कुरालाइ काट्न नसकेर ति शो हरुमा जादा आफ्नै सहकर्मी साथीबाट भएको असहयोग र हेपाहा ब्यबहारले कलाकरवाट निर्देशक देब नेपालको जन्म भएको उनि बताउछन । ” सबैको आआफ्नो इज्जत प्रतिष्ठा छ , ति साथीहरु को हुन् भन्ने चाही भन्दिन ” – उनलाई त्यस्तो ब्यबहार गर्ने व्यक्ति को थिए त भन्ने जिज्ञासामा उनले भने ।

त्यसपछि सुरु भयो उनको वास्तविक संघर्ष । लेखन र अभिनयमा उनको अब्बलाता थियो । आफुले गर्न सक्छु भन्ने कुरामा उनिमा आत्मबिस्वास थियो । त्यसपछि सुरुमा उनि लागे फिल्मकालागि नेपालीपन र मौलिकता बोकेको कथाहरुको बारेमा रिसर्च गर्न । केहि समयको अन्तरालमा थुप्रै कथाहरु तयार भए । यो बिचमा केहि साना डकुड्रामा र भिडियो फिल्महरु बनाइसकेका थिए उनले ।

यहि क्रममा उनको भेट भयो चर्चित गायक बिमल डाँगीसंग । उनि चलचित्र निर्माणको सोचाइमा थिए । गायक डाँगी संगको सहकार्यमा देवले निर्देशन गरेर बनाए ऐतिहसिक चलचित्र – “नमस्ते डोल्पा” । चलचित्र देश विदेश राम्रो चर्चा सहित सफल भयो । विशेष गरि देवको निर्देशकीय क्षमताको राम्रो प्रशंसा भयो । चलचित्रले बैंगलोरमा सम्पन्न विशेष डकुड्रामा अवार्ड पायो ।

छुवाछुतको बिरुद्द आवाज उठाउने डकुमेन्ट्री “दिशानिर्देश” , “चेतना ” जस्ता अलग पहिचान बोक्ने डकुमेन्ट्रीहरु समेत उनले बनाइसकेका छन् ।
उनि आफ्नै संजाल बिस्तार गर्दै आफ्नो अलग पहिचान स्थापित गर्न नमस्ते डोल्पाले नै सक्षम गरायो । देव नेपाल फरक पहिचान सहितको निर्देशक हो भन्ने चिनारी नमस्ते डोल्पाले दियो । तत्पश्चात मानव बलि सम्बन्धि चलचित्र “बनझाक्री”ले पनि उनको उचाइ झन् बढायो ।

वादीप्रथाको विषयमा बोल्ने उनको अर्को चलचित्र “मेरो कथा” ले २०६९/७० मा राष्ट्रिय पुरस्कार समेत पायो । यसले उनको झन् उचाइ बढायो । जापानमा समेत राम्रो चर्चा पाएको कमलरी प्रथालाइ उठान गर्ने चलचित्र “एउटै” मार्फत देवको पहिचान झन् उचाइमा पुग्यो । बक्स अफिस अवार्डमा विशेष चलचित्र पुरस्कार यहि चलचित्रले दिलायो । मेरो देश , मन त परदेशी जस्ता मुलधारका केहि चलचित्रमा पनि उनले काम गरिसकेका छन ।

नृत्यमा समेत पारङ्गत नेपालले भारतमा सम्पन्न साउथ एसिया महिला नृत्य प्रतियोगितामा उत्कृष्ट नृत्य निर्देशकको अवार्ड समेत पाएका छन । उनले एक दर्जन भन्दा धेरै हिन्दि तथा नेपाली नाटक समेत लेखेका छन । त्यति मात्र हैन, नौ पटक सम्म मेची महाकाली सास्कृतिक अभियानको संचालनको नेतृत्व उनले गरिसकेका छन । मेरो प्यारो माइतिघर , तिम्रो घर मेरो ससुराली , अग्निसाक्षी , अमर प्रिती र द मास्टर आदि उनले लेखेका व्यवसायीक फिल्म हुन् ।

अबको उनको हिमाल पारीको कथा बोल्ने प्रोजेक्टलाइ उनले आफ्नो ड्रिम प्रोजेक्ट मानेका छन । नेपाली चलचित्र विदेश सम्म पुरयाउन र प्रदर्शन गर्न सकिन्छ भन्ने कुरालाई आफुले प्रमाणित गर्न चाहेको उनको भनाइ छ । चलचित्र राम्रो बनोस् ,हाम्रो पनि शुभकामना ।