नेपाल आइडलमा थरीथरी प्रतिभा - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

नेपाल आइडलमा थरीथरी प्रतिभा



अन्नपूर्ण : धनगढी ,कैलाली । सुदूरपश्चिममा पहिलो पटक आयोजना गरिएको नेपाल आइडल सिजन- २ को अडिसन धनगढीमा भइरहेको छ । आइतबार प्रिजज राउन्ड र सोमबार जज राउन्ड हुनेछ । आइतबार धनगढीको सुदूरपश्चिममाञ्चल क्याम्पसमा प्रिजज राउन्ड सकिएको छ भने सोमबार धनगढीकै शुभ श्री प्यालेसमा जज राउन्ड आयोजना गरिने नेपाल आइडलका निर्देशक सुरेश पौडेलले जानकारी दिए ।

यसपालि सुदूरपश्चिमका कुना कन्दराबाट गायन प्रतिभा बाहिर निकाल्न एपी वान टेलिभिजनले धनगढीमा नेपाल आइडलको अडिसन राखेको हो ।सिजन-१ मा सुदूरपश्चिमबाट गायन प्रतिभाले नेपालगन्जको अडिसनमा टाढा भएकाले भाग लिन नपाएको गुनासो गरेपछि एपीवान टेलिभिजनले यस क्षेत्रका गायन प्रतिभाको कदर गर्दै प्रदेश नम्बर ७ को धनगढीमा सिजन-२ को अडिसन राखेको हो ।

धनगढीको अडिसनमा यस क्षेत्रका विभिन्न जिल्लाका गायन प्रतिभाले भाग लिएका छन् । सहभागीको उत्साह देखेर आइडल टोली खुसी भएको निर्देशक पौडेलले बताए । ‘अडिसनमा गायन क्षेत्रमा रुचि भएकाहरूको उत्साहजनक सहभागिताले हामी हौसिएका छौं’, निर्देशक पौडेलले भने । ‘यो क्षेत्र टप १० मा पर्न सफल धनगढीकी चेली सन्ध्या जोशीको क्षेत्र पनि हो’, उनले भने ।

सुदूरपश्चिमको कैलाली कञ्चनपुरका साथै अन्य पहाडी जिल्ला, बझाङ, बाजुरा, अछाम, दार्चुला, डँडेलधुरा, डोटी र बैतडीका प्रतिस्पर्धीको पनि अडिसनमा उल्लेख्य सहभागिता छ । सुदूरपश्चिममा पहिलो पटक अडिसन गरिएको भन्दै सहभागीले खुसी व्यक्त गरे ।

‘गत वर्ष मध्यपश्चिममा मात्रै अडिसन राखेकाले एपी वानले सुदूरपश्चिमलाई उपेक्षा गरेको जस्तो महसुस भएको थियो र म नेपालगन्ज जान पनि सकेको थिइनँ तर यसपालि धनगढीमै भएकाले सहभागी भएँ, खुसी छु’, कैलालीको सुखडबाट आइडलमा भाग लिन आएकी प्रतियोगी इन्दु केसीले भनिन्।

नेपाल आइडलमा डँडेलधुराका लक्ष्मण देउवाले पनि भाग लिए । गत वर्ष डँडेलधुराबाट नेपालगन्ज जान नसकेको बताएका उनले नेपाल आइडलमा गाउने आफ्नो सपना पूरा भएको बताए । ‘मलाई एक पटक नेपाल आइडलमा गाउने धोको थियो त्यो आज पूरा भएको छ’, उनले भने, ‘आइडल जित्नु र हार्नु त पछिको कुरा हो ।’

धनगढीमा आइडलको अडिसन राखेर एपीवानले प्रतिभाका लागि सहज र सजिलो पारेको महेन्द्रनगरबाट सहभागी विजयकुमार शाहीले बताए । ‘पश्चिममा यसपालि भैरहवापछि धनगढीमा अडिसन भयो, भैरहवा पश्चिम नभएको भए सायदै भाग लिन पाउँथे’ उनले भने ।

धनगढीका धेरैले आइडलमा सहभागिता जनाएका छन् । धनगढीको एलएन चोककी सृष्टि कुँवरले आइडलमा भाग लिन पाएकोमा खुसी व्यक्त गरिन् ।धनगढी अडिसनमा झापा घर भएर भारतको नयाँ दिल्लीमा काम गरिरहेका गायन क्षेत्रका प्रतिभाले पनि भाग लिएका छन् । ‘मलाई आइडलमा आउने धोको थियो, म भारतको राजधानी नयाँ दिल्लीमा काम गर्छु, धनगढीमा अडिसन भएको थाहा पाएर आएको हुँ’, उनले भने । ‘म गीत गाउनकै लागि जन्मेको हुँ जस्तो लाग्छ, त्यसैले त यहाँ आए ।’

सुदूरपश्चिमाञ्चल कलेजमा आइतबार भएको प्रिजज राउन्डमा यस क्षेत्रका उल्लेख्य युवाको सहभागिता रह्यो । नेपाल आइडल सिजन-२ ले आफूहरूको प्रतिभा प्रस्फुटनका लागि प्लेटफर्म दिएको भन्दै सहभागीहरू खुसी भएका छन् ।