नेपाल र चीनबीच ‘बीआरआई’ सहित ६ बुँदे सम्झौतापत्रमा हस्ताक्षर
नेपालको प्रतिनिधि सभा र जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस (नेशनल पिपुल्स कंग्रेस) का बीच अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सभामुख अग्निप्रसाद सापकोटा र नेपालको औपचारिक भ्रमणमा रहेका चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्शुबीच द्विपक्षीय वार्तामा भएको सहमतिको आधारमा आज ६ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए।
सम्झौतापत्रअनुसार दुवै पक्ष आपसी विश्वास सुदृढ र विकास गर्न, एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न, एकअर्काको स्वतन्त्ररूपमा छनोट गरिएको सामाजिक प्रणाली र विकास पथको सम्मान गर्न तथा एकअर्काका मूल हित र महत्वपूर्ण सरोकारका विषयमा साथ दिन सहमत भएका छन्।
यसैगरी दुवै पक्षले दुई राष्ट्र र जनताबीचको द्विपक्षीय सम्बन्ध थप गहन बनाउन र सहयोगमा योगदान पु-याउन बहुआयामिक माध्यमबाट सबै तहमा अन्तरसंसदीय आदानप्रदान र सहयोग सुदृढ गर्न प्रयास गर्ने सम्झौतापत्रमा उल्लेख छ। दुवै पक्षले नेपाल र जनवादी गणतन्त्र चीनका दुई व्यवस्थापिकाबीच उच्चस्तरीय भ्रमण र सम्पर्कको आदानप्रदानमा प्राथमिकता दिनेछन्।
दुवै पक्षले संसदीय मैत्री समूहलाई उनीहरूको संलग्नता अभिवृद्धि गर्न प्रोत्साहन गर्ने र साथ दिने तथा दुई व्यवस्थापिकाबीच सद्भाव र समझदारी प्रवर्द्धन गर्न सक्रिय भूमिका निर्वाह गर्न प्रोत्साहन गर्ने उल्लेख छ। दुवै पक्षले एकअर्काको विधायिकी, सुपरीवेक्षकीय र शासन सञ्चालनसम्बन्धी अभ्यासबारे जानकारी आदानप्रदान गर्ने र दुई सरकारबीच सहमति भएबमोजिम ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ मार्फत समेत दुई राष्ट्रहरुबीच अन्तरआबद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण गर्न महत्व दिने सम्झौता भएको हो।
दुवै पक्ष साझा हितको विषयमा ‘इन्टर पार्लियामेन्टरी युनियन’ लगायतका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संसदीय सङ्गठनहरूको खाकाअन्तर्गत सहयोग सुदृढ गर्न सहमत भएका छन्। यसैगरी यो समझदारीपत्र दुवै पक्षले हस्ताक्षर गरेको मितिदेखि लागू हुनेछ र पाँच वर्षको समयावधिसम्म मान्य रहने सम्झौता भएको छ।
साथै कुनै पक्षले यो समझदारीपत्र समाप्त हुने मितिभन्दा ६ महीना अगावै लिखितरूपमा यो समझदारीपत्र अन्त्य गर्ने सम्बन्धमा सूचना दिएकोमा बाहेक अर्को क्रमिक समयावधिको लागि स्वतः नवीकरण हुने सम्झौतापत्रमा उल्लेख छ।