अब नेपालमा पनि ‘बक्स अफिस’ - Himal Post Himal Post
  • ४ कार्तिक २०८१, आईतवार
  •      Sun Oct 20 2024
Logo

अब नेपालमा पनि ‘बक्स अफिस’



रामजी ज्ञवाली
काठमाडौं । लामो समयको बहसपछि २०७५ देखि नेपाली सिनेमा घरमा बक्स अफिस लागू हुने भएको छ । चलचित्र वितरक र हल सञ्चालकका कारणले अहिलेसम्म बक्स अफिस लागू हुन सकेको थिएन । आगामी वर्षको आर्थिक वर्ष सुरू हुनासाथ बक्स अफिस लागू हुने चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले बताइन् ।

‘बक्स अफिस लागू गराउने सन्र्दभमा अहिले बुझ्ने मानिसको राम्रो टिम निर्माण भएको छ, विगतमा गफ मात्रै भयो, अब काम गरेर देखाउँदैछौँ,’ पौडेलले भनिन् ।

चलचित्र विकास बोर्डमा नियुक्ति पाएसँगै हरेक अध्यक्षहरूले पनि बक्स अफिस लागू गराएरै छाड्ने दावी गरेका थिए, तर कार्यान्वयन गर्न कसैले सकेका थिएनन् । निर्माताहरूले बक्स अफिस लगाउन लामो समयदेखि माग गर्दै आएका थिए ।

चलचित्र विकास बोर्डका सदस्य तथा बक्स अफिस कार्यान्वयन समितिका संयोजक नरेन्द्र महर्जनको अध्यक्षतामा बिहीबार बसेको बैठकले प्राविधिकहरूसँगको छलफलपश्चात् आउँदो बर्षको वैशाख १ गतेबाट बक्स अफिस परिक्षण गर्ने र साउन १ गतेबाट लागू गर्ने निर्णय गरेको छ । फागुन १ गतेबाट काठमाडौं बाहिरका हलमा कार्यान्वयन गर्ने निर्णय पनि भएको छ ।

‘बक्स अफिस जडान गर्ने कम्पनी ‘व्रेन डिजिट इट सोलुसन’लाई जडानका लागि निर्देशन पनि दिइएको छ,’ चलचित्र संघका अध्यक्ष प्रदीप उदयले भने, ‘अब बक्स अफिस कार्यान्वयन रोकिने छैन ।’

धेरै अघिदेखि बक्स अफिसको कुरा चलिरहे पनि प्राविधिक कुरामा समस्या रहेका कारणले लम्बिएको बताउँदै उदयले भने, ‘अब निर्णय नै भएको छ । यसबारेका विज्ञहरूको सल्लाहमा प्रक्रिया अगाडि बढ्नेछ ।’

बक्स अफिस कार्यान्वयन समिति संयोजक नरेन्द्र महर्जनले बक्स अफिस कार्यान्वयन हुने पक्कापक्की भएको बताए । ‘नेपाली चलचित्रको प्रदर्शक, वितरक, निर्माताको अनुभव संगाल्नु भएका अध्यक्ष विकास बोर्डमा हुनुहुन्छ,’ उनले भने, ‘निकिता पौडेलको कार्याकालमा लागू हुनेछ, हामी यो कुरामा विश्वस्त छौँ ।’
निर्माता संघका अध्यक्ष तथा बक्स अफिस कार्यान्वयन समितिका सदस्य आकाश अधिकारीले बक्स अफिस कार्यान्वयनले नेपाली चलचित्र निर्माताले व्यहोरेको घाटामा कमी हुने बताए ।

बक्स अफिस कार्यान्वयन समिति सदस्यहरूमा चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, कपिल पराजुली र प्रभाकर भट्टराई छन् ।
के हो बक्स अफिस ?
नेपालभरीका जुनसुकै चलचित्र हलमा चलचित्र हेर्न पुग्ने दर्शकको डाटा टिपेर सेन्ट्रल सर्भरमा संकलन हुने प्रविधिलाई बक्स अफिस भनिन्छ । बक्स अफिस लागू भएपछि कति दर्शकले टिकट काटेर चलचित्र हेरे त्यसको सबै जानकारी निर्माता, निर्देशक र अन्यले थाहा पाउन सक्छन् । बक्स अफिस लागू भएपछि के कति नाफा घाटा भयो भन्दै हलहरू धाउनु पर्दैन । निर्माता तथा वितरकहरूले घरमै बसेर चलचित्रको व्यापारिक आँकडा सहज तरिकाबाट बुझ्न सक्नेछन् । हल्लाका भरमा चलचित्रको कमाइ बताउने चलन बक्स अफिस स्थापित हुनासाथ रोकिनेछ ।

बक्स अफिस लागू भए के हुन्छ ?
नेपालमा वर्षमा रिलिजमा आउने चलचित्रमध्ये ९० प्रतिशतभन्दा बढी चलचित्रका निर्माताहरूले आफ्नो चलचित्रले करोड बढीको कमाइ गरेको छ भन्दै रिपोर्ट दिन्छन् । तर, त्यो कमाइमध्ये हातमा कति पैसा पर्छ भन्ने थाहा हुँदैन । कतिपय निर्माताले त दुई दिनमै करोड क्लबमा प्रवेश गरेको भन्नसमेत भ्याएका छन् । तर, यथार्थ कुरा वर्षमा रिलिज हुने चलचित्रमध्ये ४ प्रतिशत चलचित्रले मात्रै मुनाफा कमाएका हुन्छन् ।

निर्माताले चलचित्र रिलिज भएपछि वितरकबाट पाउने रकम हेर्ने हो भने, धेरैको पसिना छुट्छ । किन नेपाली चलचित्रका व्यापारिक आँकडा सही आउँदैन ? चलचित्र निर्मातासमेत रहेका प्रदीप उदय भन्छन्, ‘सोही कारण बक्स अफिस चाहिन्छ, हावा गफ दिएर करोड कमाएको भनिन्छ, २० लाखमा कलाकार अनुबन्ध गरियोलगायतका गफ वाहियात हुन्, यसले हामीलाई नराम्रोसँग पछार्दैछ ।’

बक्स अफिस लागू भयो भने नेपाली चलचित्रबाट करोडौं कमाउने सपना बुनेर आउनेको भीड केही हदसम्म कम हुनेछ,’ एक निर्देशकले भने, ‘यसपछि मुर्गा खोज्नेहरू पनि बिस्तारै पछारिनेछन् भने व्यावसायिक निर्माताका हातमा सही सूचना र रकम हात लाग्नेछ ।’

बक्स अफिस स्थापित गर्न सके हलवाला र वितरकले गर्ने आर्थिक दादागिरी पनि कम हुनेछ ।