भारत भन्छ: नेपालबाट भारत पस्ने शंकास्पद व्यक्तिहरू ह्वात्तै बढे - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

भारत भन्छ: नेपालबाट भारत पस्ने शंकास्पद व्यक्तिहरू ह्वात्तै बढे



नयाँ दिल्ली । भारतको सशस्त्र सीमा बल (एसएसबी)ले नेपाली भूमिबाट भारत जाने तेस्रो देशका शंकास्पद व्यक्तिको संख्या अघिल्लो वर्षभन्दा एकसय प्रतिशतले बढेको दाबी गरेको छ ।

एसएसबीका महानिर्देशक कुमार राजेश चन्द्रले मंगलबार आयोजित वार्षिक पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । भारतका तर्फबाट एसएसबी नेपालसँगको १ हजार ७ सय ५१ किमि सीमाको सुरक्षामा खटिँदै आएको छ ।

उनले गएको वर्ष त्यस्ता व्यक्तिहरु २८ जनालाई एसएसबीले समातेकोमा यो वर्ष त्यो संख्या दोब्बर भन्दा बढी ५९ जना पुगेको दाबी एसएसबीको छ । तेस्रो देशबाट त्यसरी शंकास्पद रुपमा आउने व्यक्तिमा पाकिस्तान, बंगलादेश, चीन र अमेरिकाका भएको समेत उनले जनाएका छन् ।

उनले विस्तृत जानकारी दिन आग्रह गर्दा ती व्यक्तिहरु कतिपय अन्जानमै आएको र कतिपय चाहिँ शंकास्पद भएको बताएका छन् । ‘‘तर, संख्या चाहिँ निश्चित रुपमै बढेको छ,’’ उनले भनेका छन् । उनीहरु आतंककारी हुन् वा नक्कली भारतीय नोटका कारोबारी हुन् वा लागु औषध कारोबारी हुन् भन्ने कुरा आफूहरुलाई जानकारी नभएको र आफूहरुले पक्राउ गरेर स्थानीय प्रहरी कार्यालय वा गुप्तचर एजेन्सीलाई छानबिनका लागि जिम्मा लगाएको उनले जनाएका छन् ।

धेरैजसो सो विषयसँग सम्बन्धी मुद्दा प्रगतिमा रहेको उनको भनाइ थियो । दुईजना अमेरिकी नागरिक पनि घटनामा परेको तर उनीहरुलाई कानुनको ज्ञान नभएको पाइएको उनले जनाए ।

त्यस्तै खालको अवस्था चिनियाँहरुको हकमा पनि हुन सक्ने उनको भनाइ थियो । काश्मीरको मामिलामा भारतले संविधानको धारा ३७० प्रयोग गरेपछि पाकिस्तानसँगको भारतको सीमा कडाइ गरिएको र गलत तत्वले नेपालको खुला सीमालाई विकल्पको रुपमा प्रयोग गर्न सक्ने आशंकासमेत व्यक्त गरेका छन् ।

उनले नेपालसँगको सीमामा सुरक्षा मापदण्डका लागि आफ्नो बलले सर्भे गर्नुका साथै कमजोरीहरुको विश्लेषण गरेकोसमेत जनाएका छन् ।

बलले सेटलाइट तस्बिरको मद्धत लिनुका साथै एड्रिन (एडभान्स्ड डेटा प्रोसेसिङ्ग रिसर्च इन्स्टिच्युट)मार्फत सीमा क्षेत्रमा निगरानीका लागि सफ्टवेयरको स्तरोन्नति गरिएको जनाएका छन् ।

उनले एसएसबीले सन् २०१७ मा ल्याएको नेपाल र भुटानको सीमामा ‘लेजर फेन्सेज’ राख्ने पाइलट प्रोजेक्ट प्रगतिमा रहेको समेत जनाएका छन् ।