ओलीको सरकार ढाल्न अदालतले समेत षड्यन्त्र गर्यो- सुवास नेम्वाङ
नेकपा (एमाले) उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले आउँदो मंसिर ४ पछि देशमा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठन हुने बताएका छन्।
मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एमालेको बहुमत आउने दाबी गर्दै नेम्वाङले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने बताएका हुन्।
आफ्नो निर्वाचन क्षेत्र (इलाम–२)को एकतप्पामा मतदाताहरूसँग भेटघाट गर्दैनेम्वाङले अहिले सत्ता गठबन्धन निकै कमजोर भइसकेको बताए।
‘स्थानीय तहको निर्वाचनपछि गठबन्धन थाङथिलो भइसकेको छ,’ उनले भने, ‘गठबन्धनका दल अहिले संयुक्त चुनावी घोषणापत्रसमेत ल्याउन नसक्ने अवस्थामा पुगिसकेका छन्। उम्मेदवार चाहिँ साझा रे, घोषणापत्र चाहिँ दलैपिच्छे अलग–अलग। यसको अर्थ बुझिहाल्नुभयो होला।’
उनले अहिलेको सत्ता गठबन्धन देश बनाउनलाई नभइ ती दलको स्वार्थका लागिमात्रै बनेको आरोप लगाए।
नेम्वाङले एमालेले गएको स्थानीय तह निर्वाचनमा पनि सबैभन्दा लोकप्रिय मत एक्लै ल्याएको भन्दै आउँदो निर्वाचनका लागि एमाले हिसाब–किताब गरेरै लागिरहेको बताए।
‘हामीले सबै हिसाब गरेका छौं, गठबन्धनको पनि धनु छामिसकिएको छ,’ नेम्बाङले भने, ‘ओली नेतृत्वको सरकारलाई अदालतसमेतको षड्यन्त्रमा प्रतिपक्षमा पुर्याउने गठबन्धन अहिले एमालेसँग आँखा जुधाएर हेर्नसमेत नसक्ने अवस्थामा पुगिसकेको छ।’
एमालेलाई जनादेशले नभइ षड्यन्त्रले प्रतिपक्षमा पुर्याएको भन्दै नेम्वाङले स्थानीय तह निर्वाचनले पनि अब एमालेसँग एक्लै लड्न सकिँदैन भनेरै अरू दललाई देखाइसकेको बताए।
‘तर, अहिले गठबन्धन थाङ्थिलो भइसकेको छ, अबको निर्वाचनमा एमालेले नै बहुमत ल्याएर सरकार बनाउँछ।’
उनले एमाले आफ्नै बलबुतामा निर्वाचनमा विजयी हुने भन्दै मतदातालाई सचेत गर्न लाग्न पनि नेता–कार्यकर्तालाई आग्रह गरे।