नेकपामा झनै चुलियो विवाद : नेता देखि कार्यकर्तासम्म तिब्र असन्तुष्टि - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

नेकपामा झनै चुलियो विवाद : नेता देखि कार्यकर्तासम्म तिब्र असन्तुष्टि



काठमाडौं -पार्टी एकता घोषणाले पूर्णता पाएपछि नेकपामा तल देखि माथिसम्म नेता तथा कार्यकर्ताले तीव्र असन्तुष्टि जनाएका छन्। खासगरी जिल्ला नेतृत्वको विषयमा धेरैजसो नेता तथा कार्यकर्ताले पार्टीको निर्णयलाई नमान्ने पनि बताइरहेका छन् ।

पार्टी एकीकरणपछिको सचिवालय बैठकले पार्टी एकीकरणको आधार ‘एक व्यक्ति र एक पद’ को मापदण्ड तय गरेको भए पनि त्यसमै चरम विवाद देखिएको छ  ।  आइतबार पूर्ववत जिल्ला अध्यक्षलाई निरन्तरता दिने निर्णय गरेपछि जिल्ला पदाधिकारी त तोकिए तर जिल्ला तथा स्थानियस्तरका केही नेता तथा कार्यकर्ताले पार्टीको यो निर्णय गलत भएको प्रतिक्रिया दिएका छन्।

प्रदेश ५ मा यसको ब्यापक असन्तुष्टि देखिएको छ।  तत्कालीन एमालेका जिल्ला अध्यक्षहरू अधिकांश जनप्रतिनिधी छन्। पार्टीले एक व्यक्ति एक पदको मापदण्डलाई लत्याएपछि जनप्रतिनिधिका रूपमा रहेका जिल्ला नेताहरूले दोहोरो पदीय जिम्मेवारी पाएका छन् भने केही नेताहरूले सिफारिस भएर पनि पदीय जिम्मेवारी पाउन सकेनन्।

रुपन्देहीमा सचिव चयन भएका तत्कालिन माओवादी नेता दधिराम न्यौपानेले आफूले पाएको जिम्मेवारीप्रति तीव्र असन्तुष्टी व्यक्त गरे। तत्कालिन माओवादीको जिल्ला ईन्चार्ज, केन्द्रीय सदस्य हुँदै पोलिटब्यूरो सदस्यसमेत भइसकेका न्यौपानेले आफूलाई सचिव पद स्वीकार्य नभएको बताए। न्यौपानेले पदाधिकारी चयनको यो प्रक्रिया नै गलत भएको बताए। जिल्लामा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले पुनः एक पटक जिल्ला अध्यक्षको जिम्मेवारी पाएका छन्। रुपन्देहीमा अध्यक्षको लागि गोपाल भट्टराई र नारायण जिसीको नाम सिफारिस भएको थियो। सचिवालयको आइतबारको बैठकले नाम परिवर्तन गरेर निर्णय गरेपछि असन्तुष्टि देखिन थालेको हो। अर्घाखाँचीमा तत्कालिन एमालेबाट प्रदेश सांसद चेतनारायण आचार्य अध्यक्ष बनेका छन् भने तत्कालिन माओवादी केन्द्रबाट सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर विक सचिव बनेका छन्। गुल्मीमा छत्रकोट गाउँपालिकाका अध्यक्ष तत्कालिन एमालेका जिल्ला अध्यक्ष मधुकृष्ण पन्त अध्यक्ष बनेका छन्। पाल्पामा तत्कालिन एमालेबाट नारायण आचार्य र बाँकेमा तत्कालिन माओवादी केन्द्रबाट इन्द्रप्रसाद खरेल (आइपी) अध्यक्ष भएका छन्। उनीहरू दुवै जना प्रदेश सांसद हुन्।

रुपन्देहीबाट प्रस्तावित अध्यक्ष गोपाल भटराई र अर्घाखाचीबाट प्रस्तावित अध्यक्ष पिताम्बर भुसाल अध्यक्ष हुन नपाएपछि पार्टीले गरेका केही निर्णय असामान्य भएको बताए। यसै गरी पश्चिम नवलपरासीका केही नेता र कार्यकर्ताहरूले जिल्ला तहमा समानन्तर कमिटी गठन गर्ने चेतावनीसमेत दिएका छन्। पश्चिम नवलपरासीमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष घनश्याम यादवलाई अध्यक्ष र तत्कालीन एमालेका संगठन विभाग प्रमुख एंव सचिव थानप्रसाद गैरेको नाम जिल्ला सचिवमा सिफारिस गरिएको थियो। केन्द्रीय सचिवालयले नाम परिवर्तन गरेपछि जिल्लामा असन्तुष्टि बढेको एक नेताले बताए। पश्चिम नवलपरासीमा अध्यक्षको जिम्मेवारी तत्कालीन माओवादी केन्द्रका भविश्वर तिवारीलाई दिइएको छ। तिवारी तत्कालीन माओवादीको जिल्ला इन्चार्ज थिए। सचिवको जिम्मेवारी तत्कालीन एमालेका जिल्ला सचिव तुलसी पासीलाई दिइएको छ। प्रदेश ५ बाट सचिवमा घटुवा हुनेमा बाँकेका अशोक कोइराला, बर्दियाका हरि ज्ञवाली, रोल्पाका हरिप्रसाद घर्ती, रुकुमका विमलकुमार पुन र नवलपरासी पश्चिमका तुलसी पासी रहेका छन्।

उक्त निर्णय अनुसार प्रदेश ५ का कुल १२ जिल्लामध्ये ५ जिल्लामा तत्कालिन माओवादी अध्यक्ष रहेका छन्। बाँकेमा आइपी खरेल, बर्दियामा भवनकुमार थारु, रोल्पामा सुरेन्द्र घर्ती, पूर्वी रुकुममा मेघबहादुर श्रेष्ठ र नवलपरासी पश्चिममा भविश्वर तिवारी रहेका छन्। त्यसै गरी माधव नेपाल पक्षकै असहमतीका कारण विवादमा रहेको दाङ जिल्ला कमिटीको अध्यक्षमा टिकाराम खड्का अध्यक्ष भएका छन। त्यहाबाट प्रस्तावित शिव आचार्य बाहिरीएका छन्।