नेकपाभित्र राष्ट्रपति शासन: संस्थाकै मर्यादामाथि प्रश्न - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

नेकपाभित्र राष्ट्रपति शासन: संस्थाकै मर्यादामाथि प्रश्न



काठमाडौं । पटक पटक विवादमा तानिएकी राष्ट्रपति विद्यादेवी भण्डारी पुनः एकपटक विवादको जड बनेकी छन् । राजनीतिमा ब्यापक सक्रियता देखाएपछि नेपाल कम्युनिस्ट पार्टीको माथिल्लो तहबाटै उनको आलोचना हुन थालेको छ।

संवैधानिक राष्ट्रपति कार्यकारी हैसियतमा रहेको र राजनीतिमा सक्रियता देखाउन थालेको भन्दै स्वयं सत्तारुढ नेकपा नेताहरूले चर्को बिरोध गरेका छन् ।

नेकपाको शनिबारको स्थायी कमिटी बैठकमा प्रभावशाली नेताहरूले नै राष्ट्रिपतिको सक्रियतामा प्रश्न उठाएपछि उनी विवादमा आएकी हुन् ।

राष्ट्रपतिको लन्च मिटिङमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालसहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, अर्थमन्त्री डा. युवराज खतिवडा, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, वनमन्त्री शक्ति बस्नेत, कृषिमन्त्री घनश्याम भुसाल, ऊर्जामन्त्री वर्षमान पुन, संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्वगृहमन्त्री जनार्दन शर्मा र नेता देवेन्द्र पौडेल सहभागी थिए ।

पछिल्लो समय प्रधानमन्त्री केपी ओली स्वास्थ्यका कारण त्यति सक्रिय हुन सकेका छैनन् । उनले पार्टीकै नेताहरूसँग पनि नियमित भेटघाट गरेका छैनन् ।

त्यसैले अहिले नेकपामा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हाबी हुँदै गएका छन् । उनलाई माधवकुमार नेपाल, वामदेव गौतमलगायतले साथ दिन थालेका छन् ।

पार्टीमा विस्तारै कमजोर हुँदै जान थालेपछि राष्ट्रपति भण्डारीमार्फत प्रधानमन्त्री ओलीले नेताहरूलाई एकढिक्का राख्ने प्रयत्न गरेको प्रचण्ड, माधवकुमार नेपाल, भीम रावल, वेदुराम भुसाललगायतका नेताले आशंका गरेका छन् ।

स्थायी कमिटी बैठकमा एकाएक करिब एक दर्जन नेताहरू राष्ट्रपति शीतल निवासमा लन्च मिटिङ गर्न गएपछि यो विषयले शनिबार नेकपामा भनाभन नै चल्यो । मन्त्री र नेकपाका नेताहरूबीच आरोप–प्रत्यारोपको दोहोरी नै चल्यो ।

अन्त्यमा अध्यक्ष प्रचण्डले हस्तक्षेप गरेर विषयलाई मत्थर पार्ने प्रयास गरे । उनको भनाइ थियो, ‘हिजो हामी जाँदा पनि आलोचना भयो, त्यसमा पनि कहीँ न कहीँ कमजोरी हुन गयो भन्ने मलाई महसुस भएको छ, हामीले यसमा ख्याल गर्नुपर्छ, ‘यो विषयलाई अब धेरै नलम्ब्याऊँ ।’

केही समयअघि प्रधानमन्त्री केपी ओली र प्रचण्ड राष्ट्रपति शीतल निवास गएर भेटघाट गरेपछि यसको व्यापक विरोध भएको थियो । नेकपाको हेडक्वार्टर राष्ट्रपति निवासलाई बनाएको भन्दै ओली र प्रचण्डले आलोचना खेप्नुपरेको थियो ।

यस्तो अवस्थामा शनिबार नेकपाका प्रभावशाली स्थायी कमिटी सदस्यलाई राष्ट्रपतिले लन्च मिटिङमा बोलाएर राजनीतिक कुराकानी गरेपछि उनमा अझै पनि राजनीति गर्ने इच्छा देखिएको विश्लेषण गर्न थालिएको छ ।

पछिल्लो समय प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई कार्यकारी अधिकार दिएर उपचारका लागि अमेरिका जाने मनस्थितिमा रहेको भन्ने आशयका समाचार प्रवाह भइरहेको अवस्थामा शनिबार नेकपाका स्थायी कमिटीका सदस्यहरूसँग ‘लन्च मिटिङ’ ले उग्र रूप नलेला भन्न सकिन्न ।

उता नेकपावृत्तभन्दा बाहिर पनि सर्वसाधारणले राष्ट्रपतिको मर्यादाबारे प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा उनको चर्को विरोध भैरहेको छ भने कतिपयले ट्रोल बनाएका छन् ।

राष्ट्रपति र सो संस्थाबाट पछिल्लो समय भएका गरिबिधिको कारण सर्वसाधारणले राजसंस्था र राष्ट्रपतिमा भिन्नता नभएको भन्दै आलोचना गरिरहेका छन ।