केन्द्रीय कमिटी विस्तारपछि नेकपा (एस) मा तनाव, केन्द्रदेखि तलसम्म हलचल - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

केन्द्रीय कमिटी विस्तारपछि नेकपा (एस) मा तनाव, केन्द्रदेखि तलसम्म हलचल



काठमाडौ- नेकपा(एकीकृत समाजवादी)ले विस्तार गरेको केन्द्रीय कमिटी र कार्यविभाजनप्रति पार्टीभित्र असन्तुष्टि चुलिएको छ। एकीकृत समाजवादीले केन्द्रीय कमिटी विस्तार गर्दा काखापाखा गरिएको भन्दै पार्टीका नेताहरू असन्तुष्ट बनेका हुन्।

पार्टीकी नेता एवं प्रदेश २ सांसद मन्जु यादवले केन्द्रीय समिति विस्तार र कार्यविभाजनमा नातागोतालाई प्राथमिकता दिएको भन्दै असन्तुष्टि जनाएकी छिन्। मापदण्ड बनाएर केन्द्रीय सदस्य छनोट गरिएको पार्टीले बताए पनि त्यो मापदण्ड व्यक्ति विशेषमामात्र लागू गरिएको यादवले बताइन्।

प्रदेश २ बाट महिलालाई केन्द्रीय कमिटीमा मनोनयन नगरिएकोप्रति पनि उनले असन्तुष्टि व्यक्त गरेकी छिन्। माथिल्लो कमिटीमा आफू बसेर तल्लो कमिटीमा नातागोतलाई मनोनित गर्ने प्रवृत्तिले अन्ततः पार्टीलाई क्षति पुर्‍याउने उनको भनाइ छ।

‘केन्द्रीय कमिटीमा कुन आधारमा छनोट गरिएको छ बुझ्न सकिएको छैन,’ उनले भनिन्,‘कार्यक्षमता, योगदानजस्ता कुराको कुनै मतलब राखिएको छैन।’

नेकपा(एकीकृत समाजवादी) प्रदेश २ को ‘दलाल’ प्रवृत्तिका पुरुषका लागि मात्र भएको उनको आरोप छ।

‘प्रदेश २ भनेको यस पार्टीका लागि दलाल प्रवृत्ति भएको पुरुषका लागि मात्र हो?,’ कसैको नाम उल्लेख नगरी उनले भनिन्,‘माथिल्लो कमिटीमा आफू बस्ने अनि तल्लो कमिटीमा श्रीमती, साली र नातागोतालाई मनोनित गर्ने?’

पार्टीको वैकल्पिक केन्द्रीय सदस्यमा मनोनित भएकी उनले माथिल्लो कमिटीमा रहेका नेताहरूलाई चुनाव लडेर देखाउन चुनौती पनि दिएकी छिन्।

‘चुनौतीका साथ भन्छु आउने चुनावमा माथिल्लो कमिटीमा बसेका नेताहरू प्रतिनिधिसभाको चुनावमा टिकट लिने आँट गरोस्,’ उनी भन्छिन्,‘हामी जस्ता महिलाहरू कसैको दास होइनौं। हुन सक्दैनौं।’

केन्द्रीय कमिटी विस्तारप्रति नेकपा(एकीकृत समाजवादी) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले पनि असन्तुष्टि जनाएका थिए।