बिजुक्छेले भने : नेकपा कांग्रेस भन्दा बढी राष्ट्रघाती र भारतको गुलाम - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

बिजुक्छेले भने : नेकपा कांग्रेस भन्दा बढी राष्ट्रघाती र भारतको गुलाम



भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा (नेकपा) भारतीय विस्तारवादको राम्रो दास सावित भएको बताएका छन्।

कांग्रेसले नगरेका राष्ट्रघाती काम नेकपाका सरकारले गर्दै आएको दावी गर्दै उनले भने, ‘त्यसैले नेकपा भारतीय विस्तारवादको कांग्रेसभन्दा राम्रो दास भएको स्पष्ट छ।’

रुसी कम्युनिष्ट नेता भीआई लेनिनको १४९ औं जन्म दिवसको अवसरमा पार्टीद्वारा आयोजित प्रवचन कार्यक्रममा उनले कांग्रेसबाट स्वार्थपूर्ति नभएपछि नेकपा (नेकपा) लाई सत्तामा ल्याएकोसमेत बताए।

नेमकिपाले बारम्बार भनेजस्तै विस्तारवादी र साम्राज्यवाद शक्तिले नेकपालाई सत्तामा ल्याएर घोडामात्रै फेरेको उनको भनाइ थियो।

‘नेपाली कांग्रेसले भारतीय विस्तारवाद र साम्राज्यवादलाई बोक्न सकेन’, अध्यक्ष बिजुक्छेले भने, ‘त्यसैले एमाले र माओवादी केन्द्रलाई एकता गराएर सिंहदरबारमा ल्याइएको हो। नेकपाको अहिले युवा एवं तगडा घोडा छ। यसैलाई चढेर अघि बढ्छ।’ उनले नेकपाको सरकार कुनै पनि गुण र चरित्रले कम्युनिस्ट सरकार नभएको ठोकुवा गरे।

‘नेकपा सरकार पूँजीवादीको दलालबाहेक अरु होइन’, अध्यक्ष बिजुक्छेले भने, ‘यो सरकारबाट नेपाललाई नोक्सानबाहेक अरु हुनै सक्दैन।’कम्युनिष्ट घोषणापत्रको आधारमा पनि ओली नेतृत्वको सरकार कम्युनिष्ट सरकार नभएको स्पष्ट हुने उनको भनाइ थियो।

कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले नेकपाका नेताहरू सोभियत संशोधनवादी नेताहरू गोर्भाचेभ र यल्सिनको बाटोमा अघि बढिरहेको आरोप लगाए।

नेकपाका नेता तथा कार्यकर्ताहरु अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको पैसाबाट परिचालित हुने गरेको उनको भनाइ थियो। ‘नेपालमा नेकपामार्फत विदेशी गैससले कम्युनिष्ट आन्दोलन कमजोर बनाउन पैसा खर्च गरिरहेका छन्’, संघीय सांसदसमेत रहेका नेता सुवालले भने।