माधव नेपाल समूहले नेकपामा बिद्रोह गर्न सक्छ - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

माधव नेपाल समूहले नेकपामा बिद्रोह गर्न सक्छ



नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश एकतासम्बन्धी सचिवालयको निर्णयबाट अन्तरिम विधान उल्लंघन भएको निष्कर्ष वरिष्ठ नेता माधव नेपाल समूहले निकालेको छ।

एकतासम्बन्धी सबै निर्णय सहमतिबाट हुनुपर्ने विधानको व्यवस्था उल्लंघन गर्दै प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोकिएको ठहर यो समूहको छ।

सचिवालयले प्रस्ताव तयार पारेर स्थायी समितिमा पेस गर्नुपर्नेमा आफैँ निर्णय गर्नु अवैधानिक भएको नेता योगेश भट्टराईको दाबी छ ।

‘सचिवालयको अधिकार प्रस्ताव तयार पारेर स्थायी समितिमा ल्याउने मात्र हो । एकतासम्बन्धी निर्णय गर्ने अधिकारै छैन,’ उनले भने, ‘सचिवालय सोझो बाटो, वैधानिक बाटो

हिँड्नुपर्‍यो, बांगो–टिंगो अवैधानिक बाटो हिँड्नुभएन । त्यसैले सचिवालयको निर्णय ठीक छैन, गलत निर्णय सच्याउनुपर्छ ।’

प्रदेश नेतृत्वको टुंगो प्रधानमन्त्री केपी ओली अमेरिकाबाट फर्किएपछि लगाउने सहमति गरेर आफू अफ्रिका भ्रमणमा गएको नेपालको दाबी छ।

तर, त्यही मौकामा हतार–हतारमा प्रधानमन्त्री ओली अमेरिका नजाँदै एकतर्फी निर्णय भएको दाबी उनको समूहले गरेको खबर अाजकाे नयाँ पत्रिकामा शुराेजंग पाण्डेले लेखेका छन्।

‘अन्तरिम विधानमा स्पष्ट रूपमा एकता प्रक्रियाबाट बन्ने कमिटीहरू सहमतिका आधारमा बन्नेछन् भन्ने लेखिएको छ, तर सहमति नगरी प्रदेशको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको नाम टुंग्याइयो, विधान त नेता-कार्यकर्ता सबैले मान्नका लागि बनाइएको होला,’ नेता बेदुराम भुसालले भने, ‘९ मध्ये २ जना सचिवालय सदस्यलाई बैठकको सूचनै दिइएन, अपर्झट बस्नैपर्ने स्थिति के थियो र? विदेशमै भए पनि बैठकको सूचना किन दिइएन रु प्रश्न उठाउँदै स्थायी समितिबाट सच्याउने प्रयास गर्छौँ।’

एक साता अफ्रिका भ्रमण गरेर फर्किएपछि नेता नेपालले सचिवालयले गरेको प्रदेश नेतृत्व चयनबारे निकटस्थहरूसँग परामर्श गरिरहेका छन्।

सचिवालय र स्थायी समितिमा प्रस्तुत हुने विषयमा उनले स्थायी समिति सदस्य घनश्याम भुसालसहित निकटस्थहरूसँग सुझाब लिएका हुन् । ५ असोजमा सचिवालय बैठकबाट नेकपाले प्रदेशको नेतृत्व टुंगो लगाएको थियो।

स्थायी समिति सदस्यलाई आज माधव नेपालको चियापान
बिहीबार केही निकटस्थ नेताहरूसँगको परामर्शपछि नेपालले शुक्रबार सबै सदस्यहरूसँग छलफल गर्ने उद्देश्यले चियापान आयोजना गर्ने भएका छन्।

शुक्रबार बिहानसम्म सबै सदस्यलाई सूचना गरिने जानकारी दिँदै उनीनिकट एक नेताले भने, ‘स्थायी समितिको अधिकार खोसेर विधानविपरीत सचिवालयले गरेको निर्णयबारे धारणा बुझ्न र परामर्शका आधारमा अघि बढ्ने उद्देश्यले उहाँले चियापान गर्न लाग्नुभएको हो।’

४५ सदस्यीय स्थायी समितिमा पूर्वएमालेबाट २५ र पूर्वमाओवादीबाट २० जना सदस्य छन्। स्थायी समिति सदस्य देवेन्द्र पौडेलले शुक्रबार १२ बजे वरिष्ठ नेता नेपालले स्थायी समिति सदस्यहरूका लागि चियापान बैठकमा निमन्त्रणा गरेको जानकारी दिए।

तीन विषयमा नेपाल समूहको असहमति
-प्रदेश नेतृत्वदेखि संसदीय समितिमा एकलौटी
आन्तरिक छलफलपछि नेपाल समूहले संसदीय समितिहरूमा सभापति चयनदेखि प्रदेश नेतृत्वको टुंगो लगाउने विषयहरूमा परामर्श नगरिएको नेपाल पक्षको आरोप छ । बैठकको जानकारीविनै निर्णय गरिएको भन्दै असहमति राख्ने निष्कर्ष निकालेको छ।

-मापदण्डविपरीत मुख्यमन्त्रीलाई भूमिका
जिल्लादेखि तल जनप्रतिनिधिहरूलाई पार्टीको कार्यकारी भूमिकामा रोक लगाउने गरी मापदण्ड बनाउने, तर मुख्यमन्त्रीको जिम्मेवारीमा रहेकाहरूलाई प्रदेश इन्चार्जको दोहोरो जिम्मेवारी दिइएको विषयलाई मुख्य एजेन्डा बनाएर प्रतिवाद गर्ने नेपाल समूहको तयारी छ । गण्डकी प्रदेश र प्रदेश ५ को पार्टीको इन्चार्जको भूमिका मुख्यमन्त्रीहरूले पाएका छन् ।
-अरिंगाल बन्न भनेर कार्यकर्ताको अपमान
नेपाल समूहले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सरकारविरुद्ध लाग्नेमाथि अरिंगालझैँ खनिन आग्रह गरेर उल्टै पार्टीका नेता(कार्यकर्तालाई गिज्याएको निष्कर्ष निकालेको छ ।

‘अरिंगाल अथवा माहुरी त एउटै गोलोमा एक ढिक्का भएर, संगठित भएर बसेको हुनाले आक्रमण हुँदा संगठित रूपमा जाइलाग्छन्,’ नेपालनिकट एक नेताले भने, ‘आन्तरिक रूपमा पार्टीलाई संगठित नबनाउने अनि नेता(कार्यकर्तालाई अरिंगाल बनेर जाइलाग्न निर्देशन दिन मिल्छ?’