द्वन्द्वकालीन मुद्दामा नेकपा र कांग्रेसको एकै स्वर: भयो सहमति - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

द्वन्द्वकालीन मुद्दामा नेकपा र कांग्रेसको एकै स्वर: भयो सहमति



काठमाडौं- सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको कानुन निर्माण र आयोगका पदाधिकारी नियुक्तिका विषयमा सहमति जुटेको छ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको आयोजनामा बसेको दुई दलका शीर्ष नेताहरु सहभागी बैठकमा कानुन निर्माण र आयोगमा पदाधिकारी नियुक्तिको सहमति भएको हो।

पुस २८ मा सातै प्रदेशबाट प्राप्त भएको सुझावलाई समेटेर ऐन संशोधन गर्ने सहमति भएको बताइएको छ । बैठकमा सहभागी नेकपाका नेताहरूले कानुन निर्माण प्रक्रियालाई अगाडि बढाउने विषयमा दुवै दल सहमतिमा पुगेको बताएका छन् ।

बैठकमा सहभागी कांग्रेस नेता रमेश लेखकले द्वन्द्वकालीन मुद्दाको टुंगो लगाउन सत्तारुढ र प्रतिपक्ष दल एक भएर अगाडि बढ्ने सहमति भएको बताए। उनले आजै सिफारिस समितिको बैठक बसिरहेको र सिफारिस समितिले ल्याएका नाममा सहमति गरेर अगाडि जाने सहमति भएको बताए।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेताहरु डा. मीनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए।

सातै प्रदेशबाट प्राप्त सुझाबलाई समेटेर कानुन मन्त्रालयले विधेयक अगाडि बढाउने र हिउँदे अधिवेशनबाटै त्यसलाई पास गरेर अगाडि बढ्ने सहमति भएको एक नेताले बताएका छन्। आयोगका पदाधिकारिका विषयमा सिफारिस समितिले सिफारिस गरेका नामलाई नै मन्त्रिपरिषदबाट पारित गरेर जाने भन्ने सहमति भएको बताइएको छ ।