एनसेलका लगानीकर्ता मलेसियाली कम्पनी एक्जियाटाका आन्तरिक लेखाप्रमुख पक्राउ

नेपालको मोवाइल सेवा कम्पनी एनसेलका लगानीकर्ता मलेसियाली कम्पनी एक्जियाटाका आन्तरिक लेखाप्रमुख रुविन दास सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।
उनी नक्कली अमेरिकी डलर १ सय सहित पक्राउ परेका छन् । मालिन्डो एयरको उडान नम्बर 0D184 मा मलेसियाबाट काठमाडौँ आएका दासलाई विमानस्थलमा पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले सोमबार जारी विज्ञप्तिमा उल्लेख गरेको छ । बैङ्क काउन्टरमा भिसा शुल्कबापत नक्कली अमेरिकी डलर १ सय बुझाउने क्रममा उनी पक्राउ परेको विमानस्थल प्रहरीले जनाएको छ ।
विमानस्थल प्रहरीले राहदानी नम्बर A35334537 वाहक बर्ष ४६ का दासलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त गौशालामा पठाएको छ । उनीबाट बरामद भएको JM34126744D नम्बरको कपी लेखिएको नक्कलीजस्तो देखिने १ सय अमेरिकी डलर १ थानसहित गौशाला वृत्तमा पठाइएको विमानस्थल प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

