बुधबार बिहान थपिए १३ नयाँ संक्रमित: सबै कपिलवस्तु र रुपन्देहीका
काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार रुपन्देही र कपिलवस्तुमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयले यसको औपचारिक पुष्टि गर्ने तयारी गरिरहेको छ । रुपन्देही र कपिलवस्तुमा गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको बताइएको छ ।
स्रोतका अनुसार भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरूमा संक्रमण देखिएको हो ।
जसमा १२ जना कपिलवस्तु र एक जना रुपन्देहीका युवकमा कोरोना संक्रमण देखिएको छ । उनीहरु सबै जना भारतबाट फर्किएर क्वारेण्टाइनमा बसेका व्यक्ति हुन् ।
रुपन्देहीको बेलहिया नाकाबाट प्रदेश सरकारकै समन्वयमा आएर क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना संक्रमण देखिएको स्रोतको भनाइ छ ।
आजमात्र बुटवलमा उपचाररत एक व्यक्तिको कोरोनाकै कारण निधन भएको छ ।