नयाँशक्ति र राजपाबीच एकताको तिब्र तयारी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नयाँशक्ति र राजपाबीच एकताको तिब्र तयारी



संविधान संसोधनको एजेण्डासहित सरकारविरुद्ध मोर्चावन्दी गरिरहेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले विचार र एजेण्डा मिल्ने राजनीतिक दलहरुसँग एकता गर्ने भएको छ ।

स्वतन्त्र मधेश गठबन्धनका नाममा तराईमा गतिविधि गरिरहेका सीके राउतले सरकारसँग ११ बुँदे सहमति गरी पार्टी घोषणा गरेलगत्तै राजपाले शक्ति बिस्तार गर्ने रणनीतिका साथ अन्य दलसँगको एकता र सहकार्यलाई तिव्रता दिएको हो ।

राजपाले अन्य दलसँग एकता र आफ्नो आन्दोलनमा सहकार्य गर्न अध्यक्ष राजेन्द्र महतोको संयोजकत्वमा उच्चस्तरीय वार्ता समिति समेत गठन गरेको छ । राजपा महासचिव केशव झाका अनुसार महतोको संयोजकत्वमा उपाध्यक्षद्धय वृषेशचन्द्र लाल र रमेश यादव तथा महासचिवद्धय केशव झा र सुनिल रोइतसहितको वार्ता समिति बनाएको हो ।

झाका अनुसार भर्खरै सम्पन्न पार्टीको बैठकले राजनीतिक दलसँग वार्ता गरी एकता गर्नेसम्मको म्याण्डेट दिएर वार्ता समिति गठन गरेको हो । जनमत पार्टीको घोषणा गरी मुलधारको राजनीतिमा आएका सीके राउतबाट झस्किएको राजपाले संघीय समाजवादी फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग पहिलो चरणमा एकता वार्ता गर्नेछ ।

तर संघीय फोरम सरकारमा सहभागी भएका कारण वार्ता गर्न नहुने मत पनि राजपाभित्र छ । यसअघि नयाँ शक्ति र फोरमवीच एकताको अन्तिम तयारी भएर पनि भाँडिएको थियो ।

फोरमले संबिधान संसोधनको एजेण्डामा नयाँ शक्ति र आफ्ना एजेण्डा मिल्ने भन्दै सके एकता नत्र सहकार्य गर्ने नीति सहित वार्ता समिति बनाएको हो । यो प्रस्तावमा नयाँ शक्ति सकारात्मक छ ।

राजपा नेताहरुका अनुसार नया शक्तिसँग अनौपचारिक सम्वाद शुरु भएको छ भने फोरमले यसअघिनै राजेन्द्र श्रेष्ठको संयोजकत्वमा बनाएको बार्ता समितिसँग समेत अनौपचारिक सम्वाद थालेको छ ।

दशैलगत्तै सरकारविरुद्ध निर्णायक आन्दोलन थाल्ने उद्घोषसहित ६ बटा वेग्लावेग्लै दलवीच एकता भएर बनेको राजपाले विभिन्न बहाना बनाउदै आन्दोलनका कार्यक्रम भने धकेल्दै आएको छ ।

श्रोतका अनुसार राउतले तराईमा नेपालको संबिधान अक्षरस पालना गर्ने प्रतिवद्धतासहित दलीय गतिविधिमा संलग्नता वढाएपछि राजपाले शक्ति वढाउन अन्य दलसँग वार्ताका लागि हतार गरेको हो ।

यसअघि फोरमले एकताका लागि राजपालाई औपचारिक पत्र समेत पठाइसकेको छ । तर राजपा नेताहरुले भने सरकारसँगको आवद्धता नत्यागेसम्म उपेन्द्र यादव नेतृत्वको संघीय फोरमसँग वार्ता नगर्ने बताउदै आएका छन् ।

राजपाका नेताहरुका अनुसार पार्टीको आसन्न महाधिवेशन अगावै नयाँ शक्ति र संघीय फोरमसँगको बार्तालाई निष्कर्षमा पुर्याउने छ । संघीय फोरमले आगामी २८ देखि ३० चैतमा महाधिवेशन मिति तय गरेको छ । राजपाले भने आगामी ७, ८ र ९ बैशाखमा महाधिवेशन गर्दैछ ।