नयाँ शक्तिद्वारा दिल्लीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नयाँ शक्तिद्वारा दिल्लीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न



ईन्द्र कमल जैरु /नयाँ दिल्ली 

नेपाली राजनीतिक अभ्यासमा आफुलाई वैकल्पिक शक्तिको रुपमा स्थापित गर्न प्रयासरत नयाँ शक्ति नेपाल पार्टीले दिल्लीमा एक अन्तरक्रियात्मक कार्यक्रम गरेको छ । भारतको राजधानी दिल्लीस्थित नयाँ शक्ति पार्टीका प्रवासी र विद्यार्थी संगठनको संयोजनमा वैकल्पिक राजनीति विषयक अन्तरक्रियात्मक कार्यक्रम गरिएको हो ।

नयाँ शक्ति पार्टीको प्रचार विभागको टोली दिल्लीमा अध्ययन भ्रमणमा रहेका बेला गरिएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिको पनि उपस्थिती रहेको थियो। समारोहमा बोल्दै नयाँ शक्ति प्रचार विभागका उपप्रमुख सुदर्शन खतिवडाले प्रचार विभागको टोली भारतका विभिन्न पार्टीहरुको सञ्चार अभ्यास र सफल क्रियाक्लापहरुको अध्ययन गर्न दिल्लीमा आएको जानकारी दिदै भारतीय जनता पार्टी, काँग्रेस आई र दिल्लीको आम आदमी पार्टी लगायतका दलका नेता कार्यकर्तालाई भेट गरि प्रचार अनुभव लिएको जानकारी दिनुभयो । उहाले देशको वर्तमान अवस्थाका कमी-कमजोरी औल्याउँदै समृद्ध नेपालका लागि नयाँ शक्ति पार्टीको अवधारणा स्पष्ट पार्नु भयो ।

समारोहमा बोल्दै नयाँ शक्तिको भ्रमणमा टोलीमा रहेका सदस्य दीपक महतोले देशमा वर्तमान दुई तिहाईको सरकार र विपक्षमा समेत बलियो पार्टी रहेको भएपनि विकासका मुद्धामा चुकेकोले आफुहरु देशलाई समृद्धिको दिशामा अगाडी बढाउन वैकल्पिक अभियानमा लागेको बताएका छन । देशमा युवाहरु रोजगारीका लागि विदेश पलायन हुनु, राष्ट्रिय गौरवका आयोजनाहरुमा विदेशी हस्तक्षेप, गुणस्तरहीन शिक्षा, स्वास्थ्य सेवाको कमी लगायतका वर्तमान समस्याको समाधान गर्न डाक्टर बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति पार्टी वैकल्पिक शक्तिको रुपमा स्थापित भएको बताएका छन।

समृद्धि हाम्रै पालामा सम्भव छ भन्दै नेताहरुले त्यसका लागि सम्पूर्ण नागरिक विशेषगरि युवा वर्ग यस अभियानमा आउन जरुरी भएको बताएका छन । समारोहमा गैर-राजनीतिक दलका प्रतिनिधिले नेपालको वर्तमान अवस्था देख्दा सत्तासिन र विपक्षमा रहेका दलबाट ठूलो अपेक्षा गर्न नसकिने भन्दै नेपाली नागरिकको समस्याको स्थायी समाधानका लागि नयाँ शक्तिका एजेण्डाको प्रशंसा गरेका थिए । नयाँ शक्ति प्रचार विभागका प्रमुख विश्वदिप पाण्डेको नेतृत्वमा माघ १  गतेदेखि टोली दिल्लीमा रहेको छ । टोलीमा केन्द्रीय समिति सदस्य मानुषी यमी भट्टराई, सुदर्शन खतिवडा, पंकज राई, मनोज ढोडारी, प्रल्हाद पोखरेल लगायत रहेका छन ।