कांग्रेसका पाँच र एमालेका चार विकल्प- यसरी बन्न सक्छ नयाँ सरकार
निर्वाचनको मत गणना सकिएसँगै नयाँ सरकार गठनका लागि दलहरूले आफ्नो दौडधुप तीव्र बनाएका छन् । खासगरी प्रमुख राजनीतिक दलहरू आफ्नो नेतृत्वमा सरकार बनाउने गरी हिसाब–किताबमा जुटेका छन् ।
दलहरूले आपसी भेटघाट, छलफल र वार्तालाई बढाएका छन् । कुल २७५ जना सांसदमा प्रत्यक्षबाट १६५ जना निर्वाचित भइसकेका छन् भने समानुपातिक निर्वाचन प्रणालीबाट ११० जनाको नाम राजनीतिक दलहरूले भोलि (शनिबार) सम्म निर्वाचन आयोगलाई बुझाउने छन् । योसँगै नयाँ सरकारको नेतृत्व कसले गर्ला, कुन–कुन दल मिलेर सरकार बन्छ भन्ने आम चासो पनि बढ्दै गएको छ । यसपटकको संसदमा १२ वटा राजनीतिक दलहरूको प्रतिनिधित्व भएको छ भने पाँच जना स्वतन्त्र सांसदले पनि चुनाव जितेका छन् ।
नयाँ सरकार गठन गर्ने अंकगणितीय अवसरलाई हेरौँ
संसदमा कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी गरी १२ वटा राजनीतिक दलको प्रतिनिधित्व छ । ५ जना स्वतन्त्र सांसद छन् ।
समानुपातिकको सिट बाँडफाँटलाई हेर्दा प्रत्यक्षमा ५७ सिट जितेको कांग्रेसले समानुपातिकमा ३२ सिट ल्याएको छ । कांग्रेसका कुल सांसद ८९ हुनेछन् । त्यस्तै, एमालेको प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ गरी ७८ सिट पुगेको छ । माओवादी केन्द्रको १८ सिट प्रत्यक्ष र १४ सिट समानुपातिक गरी ३२ जना छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा ७ सिट हात पारेको छ । उसले समानुपातिकमा १३ थपेर २० सिट प्राप्त गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षमा ७ र समानुपातिकमा ७ गरी १४ सिट, जसपाले प्रत्यक्षमा ७ र समानुपातिक ५ गरी १२ सिट र जनमतले प्रत्यक्षमा १ र समानुपातिकमा ५ गरी जम्मा ६ सिट हात पारेको छ । यिनै सात पार्टीले थ्रेस होल्ड कटाएका छन् र राष्ट्रिय पार्टीको मान्यता पनि पाएका छन् । अन्य ५ पार्टीले थ्रेसहोल्ड कटाउन सकेका छैनन् । समानुपातिकबाट सिट नपाए पनि नेकपा एकीकृत समाजवादी को १० सिट, नागरिक उन्मुक्ति पार्टी ३ सिट, लोकतान्त्रिक समाजवादी पार्टीको ४ सिट, राष्ट्रिय जनमोर्चाको १ सिट, नेपाल मजदुर किसान पार्टीको १ सिट र पाँच जना स्वतन्त्र सांसद छन् ।
संसदको अंक गणित हेर्दा संसदको सबैभन्दा ठूलो दल कांग्रेस बनेको छ । स्वाभाविक रूपमा संसदको पहिलो ठूलो दलले सरकारको दाबी गर्नेछ । र, आफ्नो नेतृत्वमा सरकार बनाउन पहलकदमी लिनेछ । त्यसो त विगतमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरू गठबन्धन बनाएर नै निर्वाचनमा गएका हुन् र निर्वाचनपछि पनि गठबन्धनकै सरकार बनाउने प्रतिवद्धता व्यक्त गरिसकेका छन् । सोमबार मात्र गठबन्धनको बैठक बसेर गठबन्धनलाई निरन्तरता दिने सहमतिसमेत भइसकेको अवस्थामा पुनः सरकार गठन गठबन्धनकै हुनसक्ने अनुमान गर्न सकिन्छ । यद्यपि, यसो हुँदा पनि गठबन्धनलाई सहज बहुमत पुग्दैन ।
कांग्रेसको नेतृत्वमा पहिलो विकल्प
कांग्रेसको ८९ सिट, माअोवादी केन्द्रको ३२, नेकपा एसको १० सिट, लोकतान्त्रिक समाजवादी पार्टीको ४ सिट र राष्ट्रिय जनमोर्चाको १ सिट गरी जम्मा १३६ सिट पुग्छ । सरकार गठनका लागि चाहिने बहुमत संख्या १३८ हो । यो गठबन्धन बनाउँदा २ सिटको अपुग देखिन्छ । यसमा स्वतन्त्रबाट निर्वाचित दुई सांसदलाई समावेश गराउन सकियो भने बहुमत पुग्छ र सरकार बनाउन सकिन्छ ।
दोस्रो विकल्प
कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एस, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टी मिलेको खण्डमा १६५ सिट संख्या पुग्छ । यसो हुँदा बहुमतको सरकार बन्नसक्छ ।
तेस्रो विकल्प
अर्को, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एस मिलाउँदा १५२ सिट पुग्छ । सरकार गठनको यो अर्को सम्भावना हो ।
चौथो विकल्प
कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी गरेर १४३ सिट पुग्छ । यसो हुँदा नेकपा (माओवादी केन्द्र) लाई बाहिर राखेर कांग्रेसले सरकार बनाउन सक्छ ।
पाँचौँ विकल्प
अर्कोतर्फ कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टीको १४३ सिट पुग्छ । यसलाई पनि नयाँ सरकार गठनको अर्को सम्भावनाका रूपमा लिन सकिन्छ । माथि उल्लेख गरिएका गठबन्धनमा स्वतन्त्र सांसदहरूको पनि संलग्नता हुनसक्ने सम्भावना पनि रहन्छ ।
एमाले नेतृत्वमा पहिलो विकल्प
दोस्रो दल बनेको एमालेले पनि सरकार गठनका लागि अंक गणित जुटाउन कस्सिएको छ । कतिपय नेताहरूले आफ्नो पार्टीको सरकारमा दाबी रहेको पनि सार्वजनिक अभिव्यक्ति दिएका छन् । एमाले, माओवादी केन्द्र, नेकपा एस र राष्ट्रिय प्रजातन्त्र पार्टी मिल्दा १३४ सिट पुग्छ । सरकार गठनका लागि ४ सिट अपुग हुँदा स्वतन्त्रहरूको सहयोग लिनुपर्ने हुन्छ ।
दोस्रो विकल्प
एमाले, माओवादी केन्द्र, नेकपा एस, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी मिल्दा १४६ संख्या पुग्छ । जुन संख्याले सहजै सरकार गठन बन्न सक्छ ।
तेस्रो विकल्प
एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी मिलाउँदा १३४ सिट पुग्छ जहाँ फेरि ५ सिट स्वतन्त्र सांसदहरूको सहयोग अनिवार्य हुन्छ ।
चौथो विकल्प
एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच गठबन्धन गर्दा १४५ सिट संख्या पुग्छ । यसो हुँदा सरकार गठन गर्न सकिन्छ ।
कांग्रेस र एमालेको संयुक्त सरकार
अर्को सहज विकल्पका रूपमा कांग्रेस र एमालेको सरकार बनाउँदा १६७ सिट पुग्छ । सहजै सरकार बनाउन सकिन्छ । यद्यपि, संघीय सरकार बनाउँदै गर्दा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष र राष्ट्रियसभा उपाध्यक्षजस्ता पदमा पनि भागवण्डा मिलाउनुपर्ने चुनौतीमा दलहरू हुनेछन् । उता सातै प्रदेश सरकार गठन गर्न सहज हुनेगरी पनि संघीय गठबन्धन गर्न दलहरू अग्रसर हुन्छन् । यसले गर्दा आगामी दिनमा कुन–कुन पार्टी मिलेर सरकार बनाउँछन् भने विषय चासोका साथ हेरिएको छ ।न्युज एजेन्सी नेपाल