कविता : नयाँ मान्छे
-लक्षिराम आचार्य
चिया पसल, बिश्वबिद्धालय को
क्यान्टिन वा लाइब्रेरी मा बसेर
म थुप्रै बितण्डापुर्ण तर्कहरू
गर्न त सकुँला,
तर समय र परिस्थिति बुझेर
साँच्चै मुक्ति वा मृत्यु को अठोट लिई
मैदानमा दौडने
नयाँ मान्छे र नयाँ सभ्यताको
सिर्जना गर्न सकुँला या नाइँ ?
दृष्टिकोण,स्पष्टता ,निष्ठाता
समर्पण र ईमानदारिता
साहस वा बलिदानभावको
उन्नत चेतनाले जागृत भई
समाजको विकृत जालो च्यातेर
नयाँ समाजको नयाँ मान्छे
बन्न सकुँला या नाई?
न्युटन देखि आइन्स्टाइन सम्मको
भौतिक विज्ञानको चेतना हुँदै
मार्क्स,लेनिन, माओको
सामाजिक विज्ञानको भावलाई
जब म पक्रने हिम्मत कस्ने छु
अनि ज्ञान र भावनाको सौर्य मानव भएर
कायेरतालाइ क्षतविक्षत पार्दै
रण मैदानको क्रान्ति सिपाही बन्नेछु
त्यति बेला मलाई
फाँसीको तख्तामा झुण्ड्याउने
दुस्साहस हुन सक्छ
आत्मसमर्पणको हड्डी फ्याँकिनेछ
म मृत्यु दण्ड अघि
तुच्छ भएर जीवनको भिख माग्ने छैन
राष्ट्रपति वा कुनै मालिक सङ्ग
आँसु झारी काँतर बन्ने छैन
बरु आँसु भान्दा गोली पिएर मर्नेछु
अनि त यहाँ
झन् नयाँ तुफानिले
नयाँ मानव समाजको
खाका कोर्नेछ
इतिहास को वेगले
नयाँ मान्छेको
ताज पहिरिनेछ।
लक्षिराम आचार्य / कैलाली ।