पार्टी एकताबारे नयाँ खुलासा ! - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

पार्टी एकताबारे नयाँ खुलासा !



नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा सांसदहरु प्रधामन्त्री केपी शर्मा ओलीविरुद्ध खनिएका छन् ।

सांसदमात्र होइन ओली क्याबिनेटमा रहेका मन्त्रीहरुसमेत उनीप्रति आक्रमक देखिए । दुई दिनसम्म चलेको संसदीय दलको बैठकमा माओवादीका मन्त्रीहरुले बजेट तयारीबारे ब्रिफ गराएका थिए ।

गृहमन्त्री रामबहादुर थापा, खानेपानी मन्त्री विना मगर, उद्योग मन्त्री मातृका यादवलगायतका मन्त्रीहरुले बजेटबारे जानकारी गराएका हुन् ।

प्रधानमन्त्रीले बजेटका विषयमा आफूसँग कुनै छलफल नगरेको मन्त्रीहरुको गुनासो थियो । यसैगरी सांसदहरुले पनि प्रधानमन्त्रीले बजेटमा एकलौटी गर्न खोजेको आरोप लगाए ।

आफ्ना सांसद र मन्त्रीले गुनासो गरेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीसँग त्यसबारे छलफल गर्ने बताएका थिए ।

बैठकमा अध्यक्ष प्रचण्डले बजेटको विषयमा आफ्नो पनि असन्तुष्टि रहेको बताउँदै आजै ओलीसँग छलफल गर्ने बताएका थिए । ओलीसँगको छलफल पछि पुनः संसदहरुलाई बजेटबारे उनले ब्रिफ गर्ने जनाएका छन् ।

बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै संसदीय दलका नेतासमेत रहेको प्रचण्डले पार्टी एकताका विषयमा पछिल्लो पटक ओलीसँग कुनै सहमति नभएको प्रष्ट पारे ।

मिडियामा आएअनुसार चार बुँदे सहमति नभएको प्रचण्डले सांसदहरुलाई जानकारी दिए । ‘मिडियामा आएको समाचार जस्तो कुनै चार बुँदे सहमति भएको छैन ।

अहिले पनि हामी बराबरीको कुरामा छौं,’ प्रचण्डलाई उद्धृत गर्दै एक सांसदले पहिलोपोस्टलाई भने, ‘हामी तल परेर कुनै सहमति गर्दैनौं ।

सहमतिबारे तपाईँहरुलाई जानकारी गराइनेछ । केही मिडियाले तथ्य बंग्याएर गलत समाचार लेखेका छन् ।’

अहिले अन्य दलसँग वृहत गठबन्धन र एकताको विषयमा छलफलमात्र चलेको र त्यसमा कुनै ठोस निर्णय भइनसकेको प्रचण्डले बताएका थिए ।