नयाँ ढाँचा र प्रणालीसहित विकासको खाका ल्याउछौं : प्रचण्ड - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

नयाँ ढाँचा र प्रणालीसहित विकासको खाका ल्याउछौं : प्रचण्ड



काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समृद्धिका लागि समाजवादी ढाँचाको विकास पद्धति अबलम्वन गरिने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब परम्परागत तवरले देशको विकास नहुने भएकाले वर्तमान सरकारले नयाँ ढाँचा र प्रणालीसहितको विकासको खाका ल्याउने उल्लेख गरे।

संंविधानप्रदत्त समाजवादी मूल्य र मान्यतालाई केन्द्रमा राखेर विकासको नयाँ अध्याय सुरु गर्न लागिएको भन्दै उनले जनताको अपेक्षालाई सम्बोधन गर्न पनि नयाँ विकास पद्धति आवश्यक रहेको बताए।

‘सामाजिक न्यायसहितको अर्थतन्त्र निर्माण गर्दै विकासको समाजवादी मोडल निर्माण गर्ने वाम गठबन्धनको योजना छ, मुलुकमा आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरेर मात्रै विकासको समाजवादी मोडल निर्माण गर्न सकिन्छ भन्ने हामीले ठहर गरेका छौं’, दाहालले भने।

दाहालले संविधान संशोधनकै माध्यमबाट असन्तुष्ट समुदायको अधिकारलाई सुनिश्चित गर्ने आधार तय भइसकेको पनि बताए।

उनले पार्टी एकतालाई अन्तिम टुंगोमा पुर्‍याउने तयारी भइरहेको बताउँदै एकताका लागि गठित कार्यदलले आइतबारसम्म आफ्नो प्रतिवेदन पार्टी एकता संयोजन समितिमा पेश गर्ने जानकारी दिए।

अध्यक्ष दाहालले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता मुलुकको आवश्यकताले तय गरेको बताएका थिए।

कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका सचिव अजम्बर काङमाङ राईलगायत नयाँ शक्ति पार्टी नेपालका नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए। रासस