नवलपरासीमा दुर्घटना: ६ जनाको मृत्यु, २० जना घाइते - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

नवलपरासीमा दुर्घटना: ६ जनाको मृत्यु, २० जना घाइते



काठमाडौं- नवलपरासीका विभिन्न स्थानमा भएका तीन सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । कम्तीमा १५ जना घाइते भएका छन् ।

घाइतेको संख्या बढ्ने प्रहरीले जनाएको छ । जिल्लाको कावासोती, अरुणखोला र चोरमारा तीन स्थानमा सवारी दुर्घटना भएका हुन् । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८, पूर्व पश्चिम राजमार्गमा गए राति सवारी दुर्घटना हुँदा ५ जनाको मृत्युु भएको छ ।

राति सवा १० बजेको समयमा पूर्वी नवलपरासीको कावासोती–८ खरकट्टा जंगलस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नंको ट्रक र विपरित दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नंको कार एक आपसमा ठोक्किँदा कारमा सवार ५ जनाको भएको हो । प्रहरीका अनुसार मृतकहरुमा पाँचजना मध्ये ३ जनाको सनाखत भएको छ ।

देवचुली नगरपालिका १ केउरानीका ३५ बर्षीय दिपक भन्ने पूर्णबहादुर विक, देवचुली ५ का दिलबहादुर ढेंगा मगर र कैलाली जिल्लाका सुरज राना मगरको सनाखत भएको हो । बाँकी २ जनाको अझै सनाखत हुन सकेको छैन ।

दुर्घटनामा परी गम्भीर घाइतेलाई उपचारका लागि भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए । कारमा सवार देवचुली नगरपालिकाका व्यक्ति हुन सक्ने प्रहरीले जनाएको छ । केही कागजात देवचुलीको फेला परेकाले मृतकहरू नवलपरासी देवचुलीकै हुनसक्ने प्रहरी निरीक्षक अधिकारीले बताए ।

यस्तै नवलपरासीको मध्यविन्दु नगरपालिका–१०, स्थित जंगलमा राति १ः४५ को समयमा दाङ्गबाट काठमाडौंका लागि छुटेको बस आफै अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ । कम्तीमा १५ जना घाइते भएका छन् । ना ७ ख ८६ ४२ नम्बरको बस आफै अनियन्त्रित भएर पल्टिएको हो । बस पल्टिँदा बसका मकवानपुर घर भएका बसका चालक ३५ वर्षीय लक्ष्मण तिमील्सिनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार चार जनाको नवलपुर अस्पताल, एक जनाको कालिगण्डकी अस्पताल र १० जनाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

यस्तै, आज बिहान ४ः४० बजे मध्यविन्दु नगरपालिका–७, स्थित पूर्व पश्चिम राजमार्गको ४० किलोमा बस अनियन्त्रित भई पल्टिँदा ५ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौँका लागि छुटेको ना ४ ख ९५ १० नम्बरको बस आफैं अनियन्त्रित भएर पल्टिएको हो । घाइते सबैको पूरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको छ । बसमा करिब २५ जना यात्रु सवार रहेका थिए । कतिपय घाइते आफै उपचारकालागि गएको हुन सक्नाले घाइतेको संख्या बढन सक्ने प्रहरीले बताएको छ ।