को हुन् नेपालका लागि नवनियुक्त भारतीय राजदूत श्रीवास्तव ? - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

को हुन् नेपालका लागि नवनियुक्त भारतीय राजदूत श्रीवास्तव ?



काठमाडौं- नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल सम्हाल्न काठमाडौं आइपुगेका छन्।

उनी शनिबार काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। नेपालका लागि राजदूत नियुक्त हुनुअघि भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवको रुपमा कार्यरत श्रीवास्तव भारतका प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणअघि मे १७ मा राजदूत नियुक्त भएका थिए।

नवीन श्रीवास्तव भारतीय सञ्‍चारमाध्यम हिन्दुस्तान टाइम्सले ‘चीन विज्ञ’का रूपमा परिचित कूटनीतिज्ञ हुन्। श्रीवास्तव यसअघि भारतीय विदेश मन्त्रालयमा पूर्वी एसिया मामिला डेस्कको जिम्मेवारीमा थिए।

भारतीय विदेश सेवामा सन् १९९३ मा प्रवेश गरेका श्रीवास्तवले नेपालसँगको ‘संवेदनशील सम्बन्ध’ सम्हाल्ने हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ। उनले यसअघि पूर्वी लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीचको झडपपछिको तनाव समाधानका लागि विशेष पहल गरेका थिए।

नेपाली राजनीतिमा चिनियाँ कम्युनिस्ट पार्टीको प्रभाव बढिरहेका बेला श्रीवास्तवको कार्यकाल चुनौतीपूर्ण हुन सक्ने पनि हिन्दुस्तान टाइम्सले जनाएको छ।

श्रीवास्तवले यसअघि कम्बोडियाको राजदूत र चीनको सांघाईमा महावाणिज्य दूतको जिम्मेवारी सम्हालिसकेका छन्। त्यस्तै मस्कोमा आयोजित सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को सम्मेलनका क्रममा भएको चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री एस जयशंकरबीचको साइडलाइन वार्तामा समेत श्रीवास्तव सहभागी थिए।

यसअघिका राजदूत विनयमोहन क्वात्रालाई भारतीय विदेश मन्त्रालयको सचिवमा नियुक्त गरेपछि भारतले काठमाडौंमा नयाँ राजदूतको रुपमा श्रीवास्तवलाई पठाउन लागेको हो।

क्वात्राले वैशाख १८ गते भारतीय विदेश सचिवका रूपमा जिम्मेवारी सम्हालेका थिए। हर्षवर्द्धन शृंगलाले अवकाश पाएपछि भारत सरकारले क्वात्रालाई विदेश सचिवको जिम्मेवारी दिएको थियो।