राष्ट्रिय सभा निर्वाचन : एमालेले गुमाउन लागेको 'तेस्रो किस्ता', यस्तो छ प्रदेशगत मतभारको अवस्था - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

राष्ट्रिय सभा निर्वाचन : एमालेले गुमाउन लागेको ‘तेस्रो किस्ता’, यस्तो छ प्रदेशगत मतभारको अवस्था



काठमाडौँ / राष्ट्रिय सभामा रिक्त रहेका १९ सदस्यका लागि बुधवार बिहानैदेखि मतदान शुरू भएको छ । सातै प्रदेशका ८ मतदानस्थल र १४ केन्द्रमा मत खसाल्ने काम शुरू भएको हो । सातै प्रदेशमा सत्तारूढ गठबन्धनको बहुमत भएकाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सबै सीट गुमाउने देखिएको छ ।

यही फागुनमा प्रतिपक्षी दल एमालेका ८, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रका ४/४ र नेपाली कांग्रेसका ३ सदस्यको पदावधि समाप्त हुँदैछ । त्यसरी रिक्त हुने १९ पदाधिकारीका लागि निर्वाचन हुन गइरहेको हो । सातवटै प्रदेशमा गठबन्धनको बहुमत भएकाले यो निर्वाचनपछि राष्ट्रिय सभामा एमालेले आठ सीट गुमाउनेछ ।

राष्ट्रपतिबाट मनोनीत हुने एक स्थान बाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ ।

राष्ट्रिय सभा चुनावका लागि कूल २ हजार २५ जना मतदाता छन् । जसमा प्रदेश सभा सदस्य ५३२ जना तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरेर १ हजार ४९३ जना मतदाता छन् ।

एमालेले गुमाउन लागेको तेस्रो किस्ता

गत सालको पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक प्रतिनिधि सभा विघटन गरे । त्यसलाई फागुन ११ गते सर्वोच्च अदालतले उल्ट्यायो । जेठ ७ गते मध्यराति ओलीले दोस्रोपटक प्रतिनिधिसभामाथि हमला गरे । त्यसलाई पनि आसार २८ गते सर्वोच्च अदालतले उल्ट्यायो र ओलीलाई प्रधानमन्त्रीबाट बर्खास्त गरिदियो ।

एमालेले गुमाएको पहिलो किस्ता त्यही थियो । हठ र दम्भले भरिएका ओली गैरसंवैधानिक बाटोमा हिंड्न थालेपछि अदालतले किटानी आदेश दिएर ओलीलाई बर्खास्त गरिदिएको थियो । ओली बर्खास्त हुनेबेलासम्म ७ मध्ये ४ प्रदेशमा एमाले नेतृत्वको सरकार थियो ।

ओली प्रधानमन्त्रीबाट हटेपछि ७ मध्ये वटै प्रदेशमा सरकार फेरिए । ४ प्रदेशबाट एमालेले हात धुनुपर्यो । त्यो एमालेले गुमाएको दोस्रो किस्ता थियो । त्यो बीचमा राष्ट्रिय सभाको उपनिर्वाचनसमेत भयो । कलम चिह्न लिएर स्वतन्त्र रूपमा उठेका खिमलाल देवकोटाले एमालेका उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई हराइदिए ।

आज मतदान शुरू भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारूढ गठबन्धनमा रहेका पाँचवटै दल मिलेर एमालेलाई क्लिन स्वीप गराउने योजनामा छन् । मतभारको अवस्था हेर्दा त्यो स्वाभाविक देखिन्छ । राष्ट्रिय सभाको निर्वाचनमा बेहोर्ने हार एमालेले गुमाउने तेस्रो किस्ता हो ।

तेस्रो कि अन्तिम ?

गत पुस २३ गते देश भरि शुरू भएको एमालेको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘आउँदो राष्ट्रिय सभा निर्वाचनमा एमालेमाथि हुने प्रहार अन्तिम किस्ता हो ।’

आफ्ना नेता तथा कार्यकर्तालाई ढाडस दिंदै ओलीले यो राष्ट्रिय सभाको निर्वाचन विगतको जनमत रहेको बताएका थिए । ‘त्यो आजको जनमत होइन, आजभन्दा ४ वर्षअघि विभिन्न प्रवृत्तिलाई व्यवस्थापन गर्न गरिएको सिट बाँडफाँड हो । त्यसैले हामीले हार बेहोर्छौँ भन्दैमा आत्तिनुपर्दैन ।’

राष्ट्रिय सभामा सत्तारूढ गठबन्धनको भन्दा आफ्नो मतभार कम रहेको ओलीलाई पहिल्यै थाहा थियो । उनी क्लीन स्वीप हुनेमा ढुक्क छन् । तर उनले भनेजस्तो एमालेले गुमाउने यो अन्तिम किस्ता हो त ?

आउँदो तीनै तहको निर्वाचनको तयारीमा जुट्न सम्बन्धित निकायलाई प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिइसकेका छन् । सत्तारूढ गठबन्धनले आफूअनुकूल हुने गरेर निर्वाचन ऐन संशोधन गरेरै भएपनि निर्वाचन पछि सार्ने प्रपन्च गरिरहेको छ ।

सत्तारूढ गठबन्धनबीच तालमेल भएर तीनै तहको निर्वाचन भयो भने एमालेले धेरै गुमाउने छ । ओलीले गर्न लगाएको गोप्य सर्वेक्षणले गठबन्धन कायम रहेमा देशभरबाट ५ देखि ८ सीट मात्र प्रत्यक्षमा जित्न सकिने प्रतिवेदन ओलीलाई बुझाइसकेको छ ।

एमालेले प्रत्यक्षमा लज्जास्पद हार बेहोर्ने संकेत त छँदैछ, त्यसमाथि निर्वाचन आयोगले केही दिन अघि गरेको निर्णय अनुसार एमालेको चुनाव चिह्न सूर्य फ्रीज हुने अवस्थासमेत बनेको छ । चुनाव चिह्न अर्कै रोज्नुपरेको अवस्थामा एमालेले समानुपातिकमा प्राप्त गर्ने मत १० देखि १२ लाखको हाराहारीमा मात्र हुनेछ ।

तीन वटै चुनावमा गठबन्धनले एमालेलाई हराएको स्थितिपछि एमालेले धेरै शक्ति गुमाउँदै जानेछ । माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच गठबन्धन र पार्टी एकतासमेत हुने स्थिति आयो भने एमाले निकै सानो शक्तिमा खुम्चदै जानेछ ।

यस्तो छ राष्ट्रिय सभामा प्रदेशगत मतभारको अवस्था –

प्रदेश नम्बर १

प्रदेश नम्बर १ मा गाउँपालिका तथा नगरपालिका स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरेर २ सय ७२ जना मतदाता रहेका छन् । यस्तै ९२ जना प्रदेश सभा सदस्य रहेका छन् । प्रदेश १ मा ९ हजार ३ सय ४८ मतभार रहेको छ ।

यहाँ एमालेको मतभार ४ हजार ५ सय ४२, काँग्रेसको २६ सय १० माओवादी केन्द्रको ९ सय ६०, नेकपा एकीकृत समाजवादीको ६७८, जसपाको २ सय १६, राप्रपाको २ सय १०, संयुक्त लोकतान्त्रिक फोरमको १ सय २६, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको ४८र स्वतन्त्र एक सांसदको ४८ मतभार छ ।

प्रदेशमा नेकपा एमालेका जनप्रतिनिधिको ४ हजार ५४२ मतभार छ भने गठबन्धनको पाँच दलीय गठबन्धनमा आबद्ध दलहरूको कुल मतभार ४ हजार ६८६ देखिएको छ।

मधेश प्रदेश

प्रदेश नम्बर २ मा स्थानीय तहबाट २ सय ६८ मतदाता छन् भने प्रदेश सभा तर्फबाट १ सय ४ जना छन् । यी मतदाताको राजनीतिक दलका आधारमा मतभार हेर्दा प्रदेश २ मा काँग्रेसको २२ सय ६२ मतभार, माओवादी केन्द्रको ११ सय ९४, एमालेको ९ सय ४२, नेकपा एसको ७ सय ५०, जसपाको २९ सय ८८, लोसपाको १५ सय ६०, लोकतान्त्रिक फोरमको १ सय ८, संघीय समाजवादी पार्टीको ४८ र २ पालिकाबाट स्वतन्त्र ३६ मत  छ । 

बागमती प्रदेश

बागमती प्रदेशमा स्थानीय तहबाट २ सय ३७ मतदाता छन् भने प्रदेशसभाबाट १ सय ९ जना रहेका छन् । यहाँ कुल ९ हजार ४ सय ९८ मतभार रहेको छ । यहाँ कुल ९ हजार ८ सय ८८ मतभार छ ।

यो प्रदेशमा एमालेको ४१ सय ५२ मतभार, काँग्रेसको २२ सय ६२ मतभार, माओवादी केन्द्रको १६९८ मतभार, विवेकशील साझाको १ स ४४ मतभार, राप्रपाको १ सय ३२ मतभार, नेमकिपाको ९६ मतभार र एक सांसद र २ पालिका प्रतिनिधिबाट ८४ स्वतन्त्र मतभार छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा स्थानीय तहबाट १ सय ७० मतदाता रहेका छन् भने प्रदेश सभाबाट ५९ जना मतदाता छन् । यहाँ कुल ५ हजार ८ सय ७४ मतभार छ ।

यो प्रदेशमा सबैभन्दा धेरै एमालेको २५ सय ३८ मतभार, काँग्रेसको २१ सय ७८ मतभार, माओवादी केन्द्रको ७९२, जसपाको ९६, राष्ट्रिय जनमोर्चाको ९६, राप्रपाको १८ र स्वतन्त्र १ सय ३८ मतभार रहेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशमा स्थानीय तहबाट २ सय १५ जना मतदाता रहेका छन् भने प्रदेश सभातर्फ ८१ जना रहेका छन् । लुम्बिनीमा कुल ७ हजार ७ सय ६४ मतभार रहेको छ ।

यहाँ एमालेको ३२ सय ७६ मतभार, काँग्रेसको २ हजार ६४, माओवादीको १६ सय ५०, नेकपा एसको १ सय २०, जसपाको ३ सय २४, लोसपाको ३६, राजमोको ४८, राप्रपाको ३६, लोकतान्त्रिक फोरमको ३६, एक सांसदको ४८ र स्वतन्त्र १ सय २६ मतभार छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशमा स्थानीय तहबाट १ सय ५६ मतदाता रहेका छन् भने प्रदेश तहबाट ३५ जना मतदाता रहेका छन् । कर्णालीमा कुल ४ हजार ५ सय २४ मतभार रहेको छ । यहाँ माओवादी केन्द्रको मतभार १४ सय ९४, एमालेको १४ सय ३४, काँग्रेसको १ हजार ८, राप्रपाको ८४ र स्वतन्त्र १ सय ८ मतभार छ ।

सुदुर पश्चिम प्रदेश

सुदुरपश्चिम प्रदेशमा स्थानीय तहबाट १ सय ७५ मतदाता रहेका छन् भने प्रदेश सभाबाट ५२ जना मतदाता रहेका छन् । यहाँ कूल ५ हजार ६ सय ६४ मतभार छ ।

यहाँ काँग्रेसको मतभार १८ सय ७२, एमालेको १७ सय ८८, माओवादी केन्द्रको ९ सय ६६, नेकपा एकीकृत समाजवादीको ९ सय ६, जसपाको ४८, लोसपाको ४८, लोकतान्त्रिक फोरमको ३६ मतभार छ ।