नेदरल्यान्ड्ससँग नाटकीय खेल, अर्जेन्टिनाले जोगाउन सकेन अग्रता - Himal Post Himal Post
  • २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
Logo

नेदरल्यान्ड्ससँग नाटकीय खेल, अर्जेन्टिनाले जोगाउन सकेन अग्रता



एजेन्सी- फिफा विश्वकप कतार २०२२ अन्तर्गत दोस्रो क्वाटरफाइनल खेल पनि अतिरिक्त समयमा लम्बिने भएको छ । नेदरल्यान्ड्सले इन्ज्युरी समयको दशौं मिनेटमा गोल गरेपछि खेल २-२ को बराबरीबाट अतिरिक्त समयमा पुगेको हो ।

पहिलो हाफमा अर्जेन्टिनाले अग्रता लिँदै खेलमा पकड जमाएको थियो । दोस्रो हाफमा अर्जेन्टिनाले अग्रता दोब्बर पारेपछि नेदरल्यान्ड्सले आक्रामक परिवर्तन गरेको थियो । वेघर्स्टलाई मैदान पठाएको ५ मिनेटमा गोल फर्काएको डच टोलीले इन्ज्युरी समयको दशौं मिनेटमा फ्रिकिकमा चलाखीपूर्ण गोल गर्दै खेललाई अतिरिक्त समयमा धकेल्यो ।

मोलिनाले ३५ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । उनले कप्तान लिओनेल मेस्सीको अविश्वसनीय पासलाई वन भर्सेस वनको स्थितिमा फिनिस गरेका थिए । मेस्सीले बल लिएर पेनाल्टी क्षेत्रको बायाँतर्फ बढ्न लागेको अवस्थामा नेदरल्यान्ड्सको पूरै डिफेन्स लाइन चिर्नेगरी अगाडि पास खेलेका थिए । मेस्सीले अगाडि नहेरी दिएको पास मोलिनाकै पथमा पुगेपछि उनले गोल गरे ।

७३ औं मिनेटमा अर्जेन्टिनाले अग्रता दोब्बर पार्यो । पेनाल्टी क्षेत्रभित्र डेन्जेल डम्फ्राइजले मार्कस अकुनालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिए । मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई २-० ले अघि बढाए । उनले गोलरक्षकलाई विपरित दिशातर्फ पठाउँदै गोल गरेका थिए ।

८३ औं मिनेटमा नेदरल्यान्ड्सले गोल फर्काउँदै खेलमा फर्कने संकेत दियो । स्टिभन बर्घाउसको क्रसमा वुट वेघर्स्टले गोल गर्दै खेलमा अर्जेन्टिनाको अग्रता १ गोलमा घटाए । उनले क्रसमा गरेको हेडर गोलरक्षक एमिलियानो मार्टिनेजको हात मुनिबाट गोलमा परिणत भएको थियो ।

त्यसपछि इन्ज्युरी समयमा नेदरल्यान्ड्सले बराबरी गोल फर्कायो । फ्रिकिकमा बर्घिअसले दिएको चलाखीपूर्ण पासलाई वेघर्स्टले गोलमा परिणत गरे । पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त फ्रिकिकलाई बर्घिअसले सिधा छोटो पास खेलेका थिए । वेघर्स्टले त्यसलाई नियन्त्रणमा लिँदै गोल गरेपछि खेल बराबर भएको थियो ।

जितनजिक पुगेको अर्जेन्टिना लगातार दुई गोल खाएपछि अतिरिक्त समय खेल्न बाध्य भएको छ । पछिल्लो १० मिनेटमा नेदरल्यान्ड्सले खेलमा पकड जमाउनुले अर्जेन्टिनालाई कठिन हुने आँकलन गर्न सकिन्छ ।

यस खेलको विजेताले अब सेमिफाइनलमा क्रोएसियाको सामना गर्नेछ । क्रोएसियाले आज सम्पन्न पहिलो क्वाटरफाइनलमा ब्राजिललाई टाइब्रेकरमा ४-२ ले पराजित गरेको थियो । निर्धारित समय गोलरहित र अतिरिक्त समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।