नारी शक्ति - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

नारी शक्ति



-जीविका अश्रु

मेरो समाज
त्यसले निर्देशन गर्छ
जो मदिराको मातमा
झल्लू भएर लडिरहेको छ
सड़क किनारामा
छेउमा बसेका छन्
भुस्याहा कुकुरहरू

कुर्लन्छ………………!  ऊ
आफू पुरुष भएकोमा गर्व गर्छ,
मानौँ
प्राचीन समयको सँघारमा
पुरुष केवल
रेलगाड़ी जस्तै
सरलताको रेखामा चलिरहन्छ

यो युग
यो परिवेश
सरलरेखा जस्तो छैन
अनेक घुम्ति,गल्ली,गल्छेडाहरुमा
नि:सङ्कोच हाँक्नु पर्छ
वक्रेरेखामा वायुपंखी घोड़ा ,

तर उसको दिलोदिमागमा
उही प्राचीन सभ्यता छ

आफैँलाई महापुरुष ठान्छ
निस्किन्छ काममा बिहान
थोरै कमाउँछ

जान्छ हँसमुख भट्टीवाली कहाँ
थाहा छैन ऊ
नारीको सुगन्धमा नतमस्तक भएको
बिर्सन्छ स्वास्नी छोरा छोरी
बिर्सन्छ अग्निलाई साक्षी राखेर
परंपरावादी हथकड़ी लगाएर
श्रीमतीसँग गरेका बाचाहरू
तिनै नारी
अब वर्षौँ उनलाई कैद गरिएको छ
प्रणय बन्धन पछि
एउटा गमलामा रोपिएको फुलसरि
जरा फैलाउन नदिई
साँघुरो ठाउँमा बाथ्यतामा फुल्नु पर्ने ! त्यसको सुवास पुरुषका लागी बस्………..यतिका लागी
गमलामा असहजताकासाथ फुल्नु?
के यही हो नारी हुनुको अर्थ?
सहनशीलताको नाममा
सधैँ सधैँ
पुरुष सत्ताको पक्षमा उभिनु मात्र हो?
यदि यस्तै हो भने
यो स्वीकार्य हुँदैन
हामीले
पौराणिक कथामा पनि सुनेका छौँ,
दैविक शक्ति माथि
आसुरी शक्ति हाबी हुन्थ्यो,
देवगणहरु देवीको स्तुति गर्न थाल्थे
देवीबाटै दैत्यको बध हुन्थ्यो, भने
नारी शक्ति
कहाँ र कहिले कमज़ोर थियो?
पुरुष शक्तिले
दबाउने प्रयास गरिरहेका छन्
यहाँ
संकार,रितिरिवाज
कुनै न कुनै बहानामा।।

पित्रृसत्तात्मक समाजका
नारी हरेक किसिमका
पिडा र चोट सहिरहन्छन

तर,
पुरुष सत्ताको विपरीत
खड़ा उत्रिन सक्नुपर्छ
जुरुक्क उठेर घोषणा गर्न सक्नुपर्छ
कि एउटा चकित अभिव्यक्ति।।

गान्तोक,सिक्किम