ओलीले नै गगन थापाको नारा चोरेको पुष्टि - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

ओलीले नै गगन थापाको नारा चोरेको पुष्टि



काठमाडौं-नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘समुन्नत नेपाल सम्मानित नेपाली’ सहितको अवधारणा आफूले २०७२ सालमा नै ल्याएको बताएका छन्।

थापाले कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा कार्यक्रममा सार्वजनिक गरेको अवधारणापत्रलाई लिएर ओलीले आफ्नो अवधारणा कपी गरेको टिप्पणी गरेका थिए। ओलीको टिप्पणीमा थापाले सामाजिक सञ्जालमा जवाफ दिएका हुन्।

‘आजकाल अलिअलि सुनिन थालिएको छ, हामीले समृद्ध नेपाल, सुखी नेपाली भन्यौं। अहिले त्यसबाट यताउता पार्न खोज्या, समुन्नत नेपाल र सम्मानित नेपाली पो हुनुपर्छ भन्ने यताउता त्यसमा संशोधन गरेर चिन्तकहरू निस्किन खोजेको देखिन्छ’ गगनको अवधारणापत्रमा ओलीले टिप्पणी गरेका थिए।

थापाले यसको जवाफमा ‘केपी ओली ज्यू, मैले प्रस्तुत गरेको ‘समुन्नत नेपाल सम्मानित नेपाली’ अवधारणा तपाइँले पनि पढेको थाहा पाएर खुशी लाग्यो, तर, यो अवधारण २०७२ को संविधान जारी भएपछि ल्याएको हुँ।’

थापाले कांग्रेसको १३ औं महाधिवेशनमा यो अवधारणा सार्वजनिक गरेको भए पनि अहिले त्यसको थप विस्तारित स्वरुप सार्वजनिक गरेका हुन्।

काठमाडौं क्षेत्र नम्बर ४ बाट गत प्रतिनिधि सभाको निर्वाचन लड्दा सार्वजनिक गरेको घोषणा पत्रमा पनि ‘समुन्नत नेपाल सम्मानित नेपाली’ अभियानलाई प्रष्ट रुपमा लेखेको थापाले भनेका छन्।