नेपालको नक्सा खारेज गरियोस भन्दै सर्वोच्चमा रिट - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

नेपालको नक्सा खारेज गरियोस भन्दै सर्वोच्चमा रिट



काठमाडौं ।प्रचलनमा रहेको नेपाली नक्सा खारेज गर्न सर्वोच्च अदालतमा रिट परेको छ। प्रचलित नेपालको नक्सा गलत भएकाले बदर गर्न माग गरिएको हो ।

निवेदकहरु अधिवक्ता सुजित केसी र फणिन्द्र नेपालले प्रधानामन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृहमन्त्रालय, रक्षा मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सशस्त्र प्रहरी बल र नापी विभागलाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।

संविधानको प्रस्तावना, संविधानको धारा ३, धारा ५, धारा ४८ (क), संविधानको धारा १३३, सर्वोच्च अदालत नियमावली २०७४ को नियम ३३, न्याय प्रशासन ऐन २०७३ को दफा ९ समेतको आधारमा रही प्रमाणका आधारमा उत्प्रेषण परमादेशको रिट निवेदन दायर गरेको जनाइएको छ ।

सर्वोच्चमा दायर गरिएको रिटमा कालापनी क्षेत्र, लिम्पयाधुरा र लिपुलेक समेत नेपालको भएपनि हाल चलनचल्तीमा रहेको नेपालको नक्सामा सो भूमि नराखी नक्सा तयार गरिएकाले बदर गर्न माग गरिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत नापी विभागले नेपालको राजनीतिक नक्सा प्रकाशन गर्दा ऐतिहासिक रुपमा प्रमाणित सन्धि र नक्साजस्ता अभिलेख दस्तावेजलाई आधार मान्नुपर्नेमा त्यसका विपरित सम्पूर्ण नेपाली भूभाग नदेखाई भूखण्ड परित्याग गरेको देखिने गरी नेपालको त्रुटिपूर्ण नक्सा प्रकाशित गरेको देखिन्छ ।

हालै उक्त मन्त्रालयले नेपाल सरकार मातहतका सबै निकायलाई नेपालको सही नक्सा प्रयोग गर्न परिपत्र नै जारी गरेको थियो । यसबाट प्रष्ट बुझ्न सकिन्छ कि विगतमा नेपाल सरकार समेतले प्रयोग गर्दै आएको नक्सा गलत थियो’ रिटमा भनिएको छ ।