प्रकाशमान र विमलेन्द्रलाई गगनले सोधे: 'तपाइँहरूको नैतिकता खोई ?' - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

प्रकाशमान र विमलेन्द्रलाई गगनले सोधे: ‘तपाइँहरूको नैतिकता खोई ?’



काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई गम्भीर प्रश्न गरेका छन् । हिजो नेतृत्व परिवर्तनको मुद्दा बोकेर आज देउवालाई नै समर्थन गरेका उनीहरूलाई गगनले प्रश्न सोधेका हुन् ।

गगनले निधि र सिंहको नैतिकता हराएको टिप्पणी गर्दै विगतमा पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर सभापतिमा उम्मेदवारी दिएका नेताहरुले पुरानै नेतृत्वलाई समर्थन गर्नुको कारण पार्टी कार्यकर्तालाई बताउनुपर्ने बताएका छन् ।

“हिजो नेतृत्व परिवर्तनको कुरा गरेर आज त्यहि रोक्न सबैथोक गर्ने तपाईँहरूको नैतिकता खोइ ?’ गगनको प्रश्न थियो । मंगलबार मतदानस्थल राष्ट्रिय सभागृहबाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले अघिल्लो दिनसम्म नेतृत्व परिवर्तन गर्नुपर्छ भन्नेहरु भोलिपल्ट नेतृत्व परिवर्तन रोक्न लागेको टिप्पणी गरे ।

‘हिजो नेतृत्व परिवर्तन गर्न सबै कुरा गर्छु भन्नेहरु आज चाहिँ नेतृत्व परिवर्तन रोक्न सबैथोक गर्नुभयो, यो विषयमा पार्टीका कार्यकर्तालाई उहाँहरुले जवाफ दिनुपर्छ’ उनले भने ।

सभापतिमा उम्मेदवारी दिएका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले सभापतिमा शेरबहादुर देउवालाई समर्थन गरेकोप्रति टिप्पणी गर्दै थापाले नेतृत्व परिवर्तनमा किन साथ नदिएको भन्ने प्रश्नले उनीहरुलाई लखेट्ने बताए ।

नेता थापाले सभापतिका तीन उम्मेदवारले साथ दिँदा पनि देउवामा चुनाव जित्छु भन्ने आत्मविश्वास नदेखिएको टिप्पणी गरे । ‘तीन जनाले समर्थन गरेपछि उहाँ एक हजार मतले अगाडि हुनुहुन्थ्यो, तैपनि उहाँमा आत्मविश्वास देखिएन, दिनभरि उभिएर मतदातालाई नमस्कार गर्नुभयो’ उनले भने ।