एमालेको घोषणापत्र ठ्याक्कै ओलीका हावादारी गफ जस्तो : कांग्रेस नेता महर - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

एमालेको घोषणापत्र ठ्याक्कै ओलीका हावादारी गफ जस्तो : कांग्रेस नेता महर



डडेल्धुरा- नेपाली कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले २०७४ सालको निर्वाचनपछि साढे तीन वर्ष सरकार चलाएको नेकपा एमालेले घोषणापत्रमा उल्लेख एक प्रतिशत काम पनि नगरेको आरोप लगाएका छन् ।

डडेल्धुराको अजयमेरु गाउँपालिकामा गठबन्धनले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा केन्द्री सदस्य महरले तीन वर्ष सरकार चलाउँदा पनि एमालेले कुनै काम नगरेको आरोप लगाएका हुन्।

नेकपा एमालेले प्रकाशित गरेको घोषणापत्रमा समेटिएका २० ग्यारेण्टी पुरा गर्ने एमालेसँग कुनै ठोस आधार नभएको बताउँदै नेता महरले निर्वाचन प्रभावित पार्न एमालेले जनताको आँखामा छारो हाल्ने काम घोषणापत्र ल्याएको बताए।

‘केपी ओलीले साढे तीन वर्षसम्म सरकार चलाए। तर, २०७४ को घोषणापत्रमा उल्लेख एक प्रतिशत काम पनि गरेन,’ उनले भने, ‘ल त्यस बेला घोषणापत्रमा समेटिएका उहाँको पार्टीले कति काम गर्‍यो? तपाईंहरू नै सम्झिनुहोस् त।’ आफ्नो घोषणापत्रमा लेखेको एक प्रतिशत काम पनि जुन पार्टीले कार्यान्वयन गर्दैन त्यो पार्टीले देश बनाउँछु भन्नु हावादारी गफ भएको उनको आरोप छ।

कांग्रेसले सरकारको नेतृत्व गरेपछि देशमा निर्वाचनको माहौल बनेको र मुलुक स्थिरताको बाटोमा जानथालेको महरले बताए। केपी शर्मा ओली नेतृत्वको सरकारले साढे तीन वर्ष सरकार चलाएर ऋण बढाउने मात्रै काम गरेको महरको आरोप छ।

‘केपी ओली प्रधानमन्त्री हुने समयमा एक जना नेपालीको टाउकोमा चानचुन २३ हजार ऋण थियो,’ महरले भने, ‘ओलीले साढे तीन वर्ष सरकार चलाएपछि ६० हजारभन्दा बढी पुगाइदिए। ६ खर्ब रहेको देशको ऋण पनि बढाएर २० खर्ब बढी पुगाइदिए। फेरि पनि केपी ओली नेतृत्वको सरकार बने अबको ५ वर्षमा थप एक सय खर्बको अर्थतन्त्र बन्ने भन्दा पनि एक सय खर्व ऋण थपिने र देश कङ्गाल बन्ने खतरा छ।’ संविधान बचाउन, स्थिरता कायम गर्न र देशको समृद्धिका लागि गठबन्धन बनाएर अगाडि बढेको उनको तर्क थियो।