यसरी खसेको रैछ त्रिशुली नदीमा बस,घाईतेहरुको बयान यस्तो - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

यसरी खसेको रैछ त्रिशुली नदीमा बस,घाईतेहरुको बयान यस्तो



काठमाडौं – पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारबाट त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ८ पुगेको छ । आइतबार बिहान ६ बजेतिर भएको दुर्घटनामा ५ जनाको घटनास्थलमा र अन्य तीनजनाको उपचारको क्रममा निधन भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय धादिङका प्रमुख प्रहरी निरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।

झापाको काँकडभिट्टाबाट काठमाण्डुका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस बिहान ६ बजे त्रिशुली नदीमा खसेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा काठमाण्डुको थानकोट घर भएका ५१ वर्षीय राजकुमार सुवेदी, काठमाण्डु चन्द्रागिरीका ३६ वर्षीय सीता थपलिया, इलामको कन्याम घर भएका २० वर्षीय विशाल गिरी, धादिङको बेनिघाट रोराङ गाउँपालिकाका ४३ वर्षीय राजन आचार्य रहेका छन् । मृत्यु भएका चारजनाको सनाखत हुन सकेको छैन ।

दुर्घटना हुनुभन्दा ३/४ किलोमिटर वर गाडीमा तेल हालेर चालक परिवर्तन भएपछि गाडी अलि फरक तरिकाले गुडेको बस दुर्घटनाका घाइतेहरुले बताएका छन् ।

घटनास्थलको प्रारम्भिक अध्ययनमा सडक छेउको तारजाली र फलामे बार भत्काएर गाडी त्रिशूली नदीमा पुगेकाले बस तीव्र गतिमा रहेको प्रहरी निरीक्षक घिमिरेले बताए ।

दुर्घटनामा घाइते भएका २३ जनाको काठमाण्डुस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अन्य घाइतेको धादिङस्थित विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । बस सडकबाट ६० मिटर तल त्रिशूली नदीमा खसेको थियो ।