नविना लामाद्वारा पत्रकारलाई जाकिदिने धम्कि - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

नविना लामाद्वारा पत्रकारलाई जाकिदिने धम्कि



काठमाडौं- हाम्राकुरा डटकममा प्रकाशित समाचारको विषयलाई लिएर अनेरास्ववियूकी अध्यक्ष तथा सांसद नविना लामाको निर्देशनमा समाचार कक्षमै आएर धम्‍क्याएको भन्‍दै प्रेस युनियनले आपत्ति जनाएको छ।

विहीबार युनियनले एक विज्ञप्ति जारी गर्दै प्रकाशित समाचार हटाउन दबाब दिँदै धम्क्याएको घटनाप्रति आपत्ति जनाएको हो। विज्ञप्तिमा भनिएको छ, ‘हाम्राकुरा डटकममा प्रकाशित समाचारको विषयलाई लिएर जेठ २३ गते साँझ ७:०० बजेतिर अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियूकी अध्यक्ष तथा सांसद नविना लामाको निर्देशनमा अनेरास्ववियूकै केन्द्रीय सदस्य बताउने भूपेन्द्र शाहीको नेतृत्वको सात जनाको समुहले हाम्राकुरा डटकमको तीनकुनेस्थित कार्यालयको समाचार कक्षमा छिरेर कार्यरत पत्रकारलाई प्रकाशित समाचार हटाउन दबाब दिँदै धम्क्याएको घटनाप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ।’

युनियनले अध्यक्ष तथा सांसद लामाले समाचारको बारेमा पठाएको खण्डन प्रकाशित गरेपछि पनि कार्यालयमा साँझको समयमा समुह पठाएर पत्रकारलाई धम्क्याउनु तथा कार्यकक्षमा कार्यरत पत्रकारलाई मानसिक तनाब दिने कार्य र फोनबाट ‘सम्पादकलाई जाकिदिने’ भनी धम्की दिने कार्यको घोर भर्त्सना गरेको छ।

अध्‍यक्ष बद्री सिग्देलद्वारा हस्ताक्षर विज्ञप्तिमा भनिएको छ, ‘ समाचार कक्षमा प्रवेश गर्नु तथा फोनबाट सम्पादकलाई जाकिदिने भनी धम्की दिनु प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन हो। समाचार सम्बन्धी चित्त नबुझे प्रेस काउन्सीलमा उजुरी दिइ उपचार खोज्ने बाटो हु्ँदाहुँदै कार्यालयमा नै पुगेर समाचार हटाउन दबाब दिनु निन्दनीय छ।अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष तथा सांसद जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिबाट भएको यो गैरजिम्मेवार कार्यको प्रेस युनियन कडा शब्दमा भर्त्सना गर्दछ।’

घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, पत्रकारहरुको पूर्ण सुरक्षा गर्न र यस्ता घटना दोहोरिन नदिन एवं संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार निर्वाध उपभोग गर्ने वातावरण तयार गर्न युनियन सरकारसँग युनियनले जोडदार माग गरेको छ।