"नाक र मुखको झगडा" (लघुकथा) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

“नाक र मुखको झगडा” (लघुकथा)



सन्तोष पौड्याल

एक पटक नाक र मुखको घनघोर झगडा परेछ । नाकले जतिबेला पनि सिँगान छोड्दो रहेछ, जुन सधैँ मुखले खानुपर्ने । अनि मुखले खाना खाँदा नाकतिर लत्पतिने । धेरैबेरको झगडापछी एउटा निष्कर्षमा पुगेछन् दुबैजना । अब देखि जुँगाको बार लगाउने । जुँगाको बार लगाउने काम पनि कार्वान्वयन भएछ । एक दुई दिन त ठिकै भएछ । त्यसपछि त झन् बर्बाद । नाकको सिँगान पनि जुँगामा अड्किदो रहेछ , मुखको खान लागेको कुरा नि त्यहीँ अड्किदो रहेछ । फोहर झन् घट्ला भन्दा बढेछ । नाक र मुख दुवै झन् पीडित ।

पछि दुवै जना समस्या समाधान गर्ने भनेर अनुसन्धानमा लागेछन् । मुखको प्रतिवेदनले “नाक रुखाको दीर्घ बिमारी भएको देखाएछ । उसले सुझाव पेस गर्‍यो तत्काल रोगको उपचार गर्ने ।” अनि नाकको प्रतिवेदनले “मुखको घनिष्ठ साथी हातले बदमासी गरेर जानी जानी नाकमा खानेकुरा ठोस्ने गरेको देखायो र सुझाव दियो साथीलाई सचेत गर्ने, त्यति गर्दा नि नमाने कारबाही गरी ठेगान लाउने ।” त्यसपछि दुवैले एक अर्कोको सुझाव स्वीकार गरेछन् । समस्याको समाधन भएछ । जुँगाको पर्खाल पनि हटेछ ।

नेपाल र भारतको सीमा अकाट्य कुरा हो । जबसम्म यो संसार रहन्छ, नेपाल र भारत जोडिएरै रहन्छ । न सार्न मिल्छ न त टार्न मिल्छ । तारबार लाएर समस्या सामाधान हुने होइन । समाधान हुन्थ्यो भने आवत – जावत नहुने र काडेतारले बारिएको पाकिस्तान र भारत बिच हुन्थ्यो होला । भएको छ त ? झन् बिग्रदो छ । समस्या हामीमा छ । हामीले चुन्ने भ्रष्ट नेत्तृत्वमा छ । नेताको कुटनैतिक बिफलतामा छ । तारबार लगाउन यति र उति पैसा दान गर्छु भन्ने सोचाइ हावादारी , आवेशपूर्ण र सङ्कीर्ण ट्रम्पवादी मानसिकता बाहेक केही होइन ।
*NB: अब मलाई भारतीय दलाल चाहिँ नभन्नु होला ।