म्याग्दीमा चार हजार मतदाता थपिए - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

म्याग्दीमा चार हजार मतदाता थपिए



म्याग्दी : आउँदो मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा म्याग्दीमा ७५ हजारभन्दा बढी मतदाताले भोट हाल्ने भएका छन् । आउँदो चुनावका लागि म्याग्दीमा कुल ७५ हजार ५ सय ३८ जना मतदात कायम भएका छन् ।

त्यसमा ३९ हजार ४ सय ३५ महिला, ३६ हजार १ सय २ जना पुरुष र एकजना तेस्रोलिङ्गी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । एक नगरपालिकासहित पाँचवटा गाउँपालिका रहेको म्याग्दीको बेनी नगरपालिकामा कुल मतदाता १९ हजार ६०५ रहेका छन् । तीमध्ये १० हजार ४६८ महिला र नौहजार १३७ जना पुरुष मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले बताए ।

यसैगरी ११ हजार १५ मतदाता रहेको अन्नपूर्ण गाउँपालिकामा पाँच हजार ६५७ महिला, ५ हजार ३५७ पुरुष र एकजना तेस्रोलिङ्गी रहेको उनले जानकारी दिए । त्यस्तै रघुगंगा गाउँपालिकामा १२ हजार ३७३ मतदातामध्ये ६ हजार ५३१ महिला र पाँचहजार ८४२ पुरुष रहेको उनले बताए ।

जिल्ला निर्वाचन अधिकारी पौडेलका अनुसार पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिकामा ९ हजार ६४३ मतदाता रहेकोमा चारहजार ९६९ महिला र चारहजार ६७४ जना पुरुष रहेका छन् ।

मंगलामा ११ हजार ५८८ मतदातामध्ये महिला ६ हजार ८६ र पुरुष पाँच हजार ५०२ जना रहेको उनले बताए । ११ हजार ३१४ जना मतदाता रहेको मालिका गाउँपालिकामा महिला पाँच हजार ७२४ र पुरुष पाँच हजार ५९० रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

गएको वैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चरणको चुनावमा म्याग्दीमा कुल ७१ हजार ४६३ जना मतदाताट रहेकोमा पछिल्लो चरणमा सञ्चालित मतदाता नामावलीमा चारहजार ७५ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयको भनाई छ । यसपाली पछिल्लोपटक थपिएका चार हजार मतदाता नै चुनावको निर्णायक शक्ति बन्न सक्ने अनुमान गरिएको छ । २०६८ सालको जनगणना अनुसार म्याग्दी जिल्लाको कुल जनसङ्ख्या एकलाख १३ हजार ६४१ रहेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि चालु वर्षको गएको साउन महिनाको १ गतेदेखि भदौ ३ गतेसम्म फोटोसहितको मतदाता नामावली सङ्कलन अभियान सञ्चालन भएको थियो ।
जिल्ला निर्वाचन कार्यालयसहित स्थानीय तहअन्तर्गत विभिन्न गाउँपालिकाको केन्द्रमै पुगेर सञ्चालित कार्यक्रममार्फत नागरिकले आफ्नो फोटोसहितको मतदाता नामावलीमा नामदर्ता गराएका थिए ।