श्रीलङ्का : ९ मुस्लिम मन्त्रीले किन दिए राजीनामा ! - Himal Post Himal Post
  • २३ पुष २०८१, मंगलवार
  •      Tue Jan 7 2025
Logo

श्रीलङ्का : ९ मुस्लिम मन्त्रीले किन दिए राजीनामा !



श्रीलङ्कामा पछिल्लो समय मुस्लिम समुदायमाथिको फरक व्यवहार बढ्दै गएको छ । यही घटनाक्रमको विकास हुँदै जाँदा सरकारमा रहेका सबै ९ जना मुसलमान मन्त्रीले राजीनामा दिएका छन् । यस्तै दुई प्रान्तका मुसलमान गभर्नरले पनि राजीनामा दिएका छन् ।

यो घटनापछि बौद्ध धर्मावलम्बी बाहुल्य रहेको श्रीलङ्कामा गएको अप्रिल २१ मा इस्टरका दिन राजधानी कोलम्बोमा रहेका चर्च तथा सुविधा सम्पन्न होटलहरूमा भएको आक्रमणपछि श्रीलङ्कामा आन्तरिक मतभेद बढेको पुष्टि भएको बताइन्छ ।

इस्टरका दिन भएको आक्रमणमा २५० जनाको ज्यान गएको थियो । श्रीलङ्काका प्रभावशाली बौद्ध सन्यासी अथुरालिये रतनाले मुसलमानको विरोधमा आमरण अनशन गरेपछि मन्त्रीहरूले राजीनामा दिएका हुन् । रतनाले दुई प्रान्तका मुस्लिम गभर्नर र एक मन्त्रीले राजीनामा दिनु पर्ने माग गर्दै अनशन सुरु गरेका थिए ।

उनले राष्ट्रपतिसँग मन्त्रीहरूलाई हटाउन माग गरिरहेका थिए । मन्त्री तथा गभर्नरहरूको आत्मघाती आक्रमणकारीसँग सम्बन्ध रहेको आरोप रतनाले लगाएका छन् । रतनाले अरू आठ मुस्लिम मन्त्रीलाई निशाना बनाएका थिएनन् ।

तर रतनाले आरोप लगाएका मन्त्रीलाई अरू आठ मन्त्रीले साथ दिएका हुन् । मन्त्रीहरूको राजीनामाले सरकारलाई असर भने पर्ने छैन किनकि उनीहरूले सांसदका रूपमा सरकारकै साथमा छन् ।

आरोपका सम्बन्धमा छानबिन गर्न सजिलो होस् भन्नका लागि मन्त्रीहरूले राजीनामा दिएको मुस्लिम काङ्ग्रेसका सांसद राउफ हाकीमले बताएको बीबीसीले उल्लेख गरेको छ । श्रीलङ्कामा अहिले मस्लिम विरोधी अभियान चलेको र आरोपहरू लाग्ने क्रम रहेको उनले बताएका छन् । त्यसबाट मुक्त हुनका लागि राजीनामा आएको उनीहरूको भनाई छ ।

इस्टरका दिन भएको आक्रमणपछि मुसलमानका पसल तथा घरहरूमा तोडफोड हुने क्रम सुरु भएको थियो । राजीनामाको घटनापछि हिन्दु सांसदहरू पनि मुस्लिम सांसदको समर्थनमा आएका छन् ।

(बीबीसी)