मुलुकको अवस्था नाजुक : अर्थतन्त्र ६८ अर्ब घाटामा - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

मुलुकको अवस्था नाजुक : अर्थतन्त्र ६८ अर्ब घाटामा



काठमाडौँ — चालू आर्थिक वर्षको १० महिनामा मुलुकको घाटा (शोधनान्तर स्थिति) ६८ अर्ब २० करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १८ अर्ब ९३ करोड रुपैयाँले घाटामा थियो ।

मुलुक भित्रिने भन्दा बाहिरिने रकम बढेकाले शोधनान्तर घाटा फराकिलो बन्दै गएको हो। यसको अर्थ मुलुकबाट बाहिरिने रकम निरन्तर रुपमा बढिरहेको छ भन्ने हो।

यो वर्षको सुरुदेखि बढ्दो दरमा रहेको शोधनान्तर गत माघ महिनासम्म सुध्रिदो अवस्थामा देखिएको थियो। त्यो सुधार धेरै समय टिकेन। फागुन र चैतदेखि पुनः उकालो लाग्न थालेको हो। यही क्रममा बैशाखसम्म शोधनान्तर घाटा सवा ६८ अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको १० महिनाको आर्थिक तथा वित्तीय स्थितिमा यस्तो उल्लेख छ।

गत चैतमा मुलुकको शोधनान्तर स्थिति ६४ अर्ब ६८ करोड रुपैयाँले घाटामा थियो। ०७५ चैतमा शोधनान्तर घाटा १४ अर्ब ६० करोड रुपैयाँ थियो। त्यसो त भुक्तानी सन्तुलन ऋणात्मक भएको यो पहिलो घटना होइन। गत दुई आर्थिक वर्षका अधिकांश महिना शोधनान्तर ऋणात्मक थियो। यो वर्षपनि सोही प्रवृतिले निरन्तरता पाएको हो।

मुलुकबाट बाहिरिने र भित्रिने रकमबीचको अन्तर देखाउने सूचकलाई शोधनान्तर (भुक्तानी सन्तुलन) भनिन्छ। पछिल्ला वर्षमा आयात उच्च दरले बढनुका साथै अध्ययन, स्वास्थ्य उपचार, घुमफिर लगायत कारण ठूलो मात्रामा विदेश मुद्रा बाहिरिएकाले शोधनान्तर घाटामा रहेको विज्ञहरु बताउँछन्।

निरन्तर रुपमा शोधनान्तर घाटा बढी रहनु राष्ट्रका लागि खतरनाक अवस्था भएको अर्थविद्हरु बताउँछन्। घाटा नियन्त्रणका लागि सरकारले विशेष रुपमा पहल नगरे अर्थतन्त्रमा नकारात्मक असर पुग्ने उनीहरुको भनाइ छ। निरन्तर बढ्दो शोधनान्तर घाटाले निम्त्याउने समस्या समाधानका लागि सरकारले अल्पकाल, मध्यकाल र दीर्घकालका लागि छुट्टाछुट्टै विशेष योजना बनाउनुपर्ने उनीहरुको सुझाव छ।

शोधनान्तर घाटामा रहँदा विदेशी लगानी निरुत्साहित हुन्छ। उत्पादनमा नकारात्मक प्रभाव पर्ने भएकाले मुलुकको परनिर्भरता बढ्छ र विदेशी विनियम सञ्चितिमा ह्रास आउने विज्ञहरु बताउँछन्।