प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

फिल्ड निर्माण गर्ने क्रममा गलत प्रतिवेदन तयार गरेको आरोपमा मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत उपाध्याय, वडा नम्बर ६ का तत्कालीन वडा अध्यक्ष, सब इन्जिनियर, निर्माण उपभोक्ता समितिका अध्यक्षसहित ७ जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।

गाउँपालिकाको वडा नम्बर ६ सोरुकोटस्थित खौलाचौर फिल्ड निर्माण योजनामा अधिकृत उपाध्यायसहित सब-इन्जिनियर मनोज धामी र जगत बहादुर मल्लले गलत नापी किताब तयार गरी सो नापी किताब स्वीकृत एवं फिल्डमा नभए/नगरेको कामको मूल्याङ्कनसहित उपभोक्ता समितिलाई रु. १५,४४,९३०.३६ बढी रकम भुक्तानी गरेको अख्तियारको ठहर छ ।

यसैगरी सोही फिल्ड निर्माण उपभोक्ता समितिका अध्यक्ष रतन बहादुर शाही, सचिव धर्म बहादुर मल्ल र कोषाध्यक्ष धनदेवि छत्याल (शाही) ले गाउँपालिकासँग गरेको सम्झौता विपरीत फिल्डमा नभएको कार्यसमेत नापी किताबमा चढाएको र तत्कालीन वडा अध्यक्ष मन प्रसाद भट्टले फिल्डमा हुँदै नभएको काम पनि कार्य सम्पन्न भएको भनी भुक्तानी गरिदिनको लागी सिफारिस गरेको आरोपमा निजहरुविरुद्ध पनि रिट दायर गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।