भारतमा बलात्कारीलाई मृत्युदण्ड - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

भारतमा बलात्कारीलाई मृत्युदण्ड



भारतमा बलात्कारीलाई मृत्युदण्ड सजाय दिने ऐन पारित भएको छ।

शनिबार प्रधानमन्त्री निवास सेभेन रेसकोर्समा बसेको केन्द्रीय मन्त्रिपरिषद् बैठकले १२ वर्षभन्दा कम उमेरका बालिकामाथि बलात्कार गर्नेलाई मृत्युदण्ड दिने निर्णय गर्दै ‘प्रोटेक्शन अफ चिल्ड्रेन फ्रम सेक्सुअल अफेन्स’ अर्थात पक्सो एक्टमा संशोधनको अनुमति दिएको खबर आजको नागरिक दैनिकले छापेको छ।

महिला तथा बालविकास मन्त्री मेनका गान्धीले बलात्कारीलाई मृत्युदण्ड दिनेगरी पक्सो एक्ट संशोधन प्रस्ताव मन्त्रिपरिषद्मा लगेकी थिइन्।

भारतीय सञ्चारमाध्यमका अनुसार यो निर्णयसँगै १२ वर्षभन्दा कम उमेरका बालिकामाथि बलात्कार गर्नेलाई मृत्युको सजाय दिने बाटो खुलेको छ।

जम्मूको कठुआमा ८ वर्षीया नाबालिका बलात्कारको घटनाले भारतको सर्वत्र आलोचना भइरहेका बेला नरेन्द्र मोदी नेतृत्वको सरकारले बलात्कारीविरुद्ध कठोर कदम चालेको हो।

भारतको जम्मु कस्मिरमा ८ वर्षीया बालिकाको बलात्कारपछि भएको हत्या, उत्तर प्रदेशमा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) कै सांसद्ले गरेको भनिएको एक बालिकाको बलात्कार र महिलामाथि भारतभर भइरहेका विभिन्न यस्ता प्रकारका कैयौं घटनाका कारण देशभरै आक्रोस उत्पन्न भईरहेका बेला मोदी सरकारले पछिल्लो निर्णय गरेको हो।

भारतमा सन् २०१६ मा मात्रै झण्डै १९ हजार अर्थात् प्रत्येक दिन ५० भन्दा वढी बालिका बलात्कारसम्बन्धि घटना दर्ता भएको सरकारी आँकडाले देखाउँछ।