प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण गर्न असम्भव - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण गर्न असम्भव



काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक गर्ने भनिएको मृगौला प्रत्यारोपण असम्भव देखिएको छ । चिकित्सकहरूका अनुसार अहिले एपेन्डिक्सको अप्रेशन गरिएकोले र शरीर कमजोर भएकोले प्रत्यारोपण तत्कालका लागि असम्भव बनेको हो।

भर्खरै अप्रेशन गरेको र सामान्य व्यक्तिको भन्दा कमजोर शरीर भएकोले तत्कालका लागि यो सम्भावना टरेको बताइएको छ । मृगौला प्रत्यारोपणपछि त्यसलाई बचाउनका लागि ओलीले निरन्तर खाइरहेको ‘इमिनोसप्रेसन’ नामको औषधि हाल पूर्णरुपमा बन्द गर्नुपरेको छ।

एपेन्डिक्स फुटेपछि शरीरमा संक्रमण फैलिएको र एपेन्डिक्स काटेर फ्याँकेको अवस्थामा थप संक्रमण हुन नदिन यो औषधि बन्द गरिएको चिकित्सकले बताएका छन्।

उक्त औषधि रोक्दा अहिलेलाई राम्रो भएपनि उनको शरीरमा एन्टिवडी बढ्ने पनि बताइएको छ । एन्टिवडी बढ्दै गएको खण्डमा त्यसलाई घटाउन पुनः प्लाज्मा फेरेसिस गर्नुपर्ने हुनसक्छ।

नियमित डायलासिस गरिरहेका ओलीलाई एकाएक एपेन्डिसाइटिसको समस्या आएपछि मंगलबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए। उनको तत्काल शल्यक्रिया गरी एपेन्डिक्स काटेर फ्याँकिएको थियो।

पेटमा फैलिएको संक्रमणको स्रोतहरु हटाउन विभिन्न औषधिहरु चिकित्सकले उनलाई दिएका छन्। अप्रेशन लगत्तै भेन्टिलेटरमा राखिएका प्रधानमन्त्री ओलीलाई अर्कोदिन मात्रै बाहिर निकालिएको थियो।

एपेन्डिक्सको अप्रेशन गरिएको भाग निको हुन पनि सामान्य व्यक्तिको भन्दा बढी समय लाग्ने डाक्टरहरू बताउने गरेका छन् भने अप्रेशनका बेलामा रगत दिइएको हो भने त्यो बिरामी किड्नी ट्रान्सप्लान्टका निकै जोखिम हुने गर्दछ ।