दाङमा जलाइयो मोदीको पुत्ला - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

दाङमा जलाइयो मोदीको पुत्ला



दाङ : भारतले नेपालको भूभाग समेटेर नयाँ नक्सा जारी गरेको बिरोधमा देश पूरै तातेको छ। एकतर्फी रुपमा भारतले नेपाली भू-भाग आफ्नो नक्सामा समावेश गरेको भन्दै दाङमा विरोध गरिएको छ।

दाङको राप्ती गाउँपालिका १ भालुवाङ पुल्चोकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरिएको छ। भालुवाङमा युवाको नेतृत्वमा पुल्चोकमा मोदीको पुतला दहन गरेका हुन्। स्थानीय युवाले ‘भारतीय विस्तारवाद मुर्दावाद, नरेन्द्र मोदी मुर्दावाद’ को नारा लगाउँदै मोदीको पुतला दहन गरेका थिए। कालापानी, लिपुलेक, लिम्पियाधुरा जस्ता नेपालका ऐतिहासिक भूमिमा भारत सरकारले गिद्धे नजर लगाएको युवाले आरोप लगाएका छन्।

भारत सरकारले मिचेको नक्साप्रति नेपाल सरकारले कूटनीतिक तवरले समस्याको समाधान गर्नुपर्ने माग समेत गरेका छन्। त्यसैगरी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ दाङले बुधबार तुलसीपुरमा विरोध प्रदर्शन गरेको छ।

एकतर्फी रुपमा भारतले नेपाली भू-भाग आफ्नो नक्सामा समावेश गरेको विरोधमा नेविसंघको नेतृत्वमा विरोध प्रदर्शन भएको हो। ब्यानर र विभिन्न प्लेकार्ड बोकेर प्रदर्शनमा सहभागी सयौं विद्यार्थीले भारतको अतिक्रमणविरुद्ध चर्का नारावाजी गरेका थिए।

‘सीमा मिच्न पाइदैन। यस्ता छिमेकी चाइदैन। लिम्पियाधुरा, कालापानी, लिपुलेख हाम्रो हो’ जस्ता नाराबाजी गरेका थिए। तुलसीपुर क्षेत्रमा रहेका ग्रेट अरनिको, राप्ती बबई क्याम्पस ,ज्ञानज्योति, गोरखा मावि लगायतबाट दर्जनौं विद्यार्थी प्रदर्शनमा आएका थिए।