मोदीलाई काठमाडौंमा पनि साँचो बुझाइने ! - Himal Post Himal Post
  • ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
Logo

मोदीलाई काठमाडौंमा पनि साँचो बुझाइने !



अन्नपूर्ण : काठमाडौं । काठमाडौं महानगरपालिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शनिबार महानगरको कलात्मक साँचोको प्रतिक दिने भएको छ। दुई दिने नेपाल भ्रमणका क्रममा मोदीलाई मेयर विद्यासुन्दर शाक्यले नागरिक अभिनन्दनका क्रममा ‘काठमाडौंको कलात्मक साँचो’ हस्तान्तरण गर्ने भएका हुन्।

शाक्यले नागरिक अभिनन्दन पत्र वाचन गरी मोदीलाई उक्त पत्र प्रदान गर्नेछन्। साँचो पाएपछि मोदी काठमाडौं महानगरभित्र जहिले आउँदा पनि आफैं खोली प्रवेश गर्न पाउने भन्ने अर्थ लाग्ने महानगरपालिकाका सहसचिव राजेश्वर ज्ञवालीले अन्नपूर्णलाई जानकारी दिए। रंगरोगन र सरसफाई गरी चिटिक्क बनाइएको राष्ट्रिय सभागृहमा भारतीय प्रधानमन्त्री मोदी ठिक तीन बजे पुग्नेछन्।

आधा घण्टाअघि नेपालका प्रधानन्यायाधीश दीपकराज जोशी सभागृह पुग्ने कार्यक्रम छ। यसैगरी, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीहरू र राजदूतहरूको सहभागिता हुनेछ। मोदीलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल र महानगरपालिकाका मेयर शाक्यले स्वागत गर्नेछन्। ४५ मिनेटको कार्यक्रममा प्रधानमन्त्री मोदीले नागरिकलाई सम्बोधन गर्नेछन्। परराष्ट्रमन्त्री ज्ञवालीले मन्तव्य राख्नेछन् भने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले धन्यवाद ज्ञापन गर्नेछन्।

यसअघि नेपाल भ्रमणका आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई पनि नागरिक अभिनन्दन गरी काठमाडौंको साँचो बुझाएको थियो।

शाक्यले सो अवसरमा मोदीलाई नेपालको मौलिक कलाकृति झल्कने उपहार दिनेछन्। स्वागतका लागि महानगरपालिकाले तयार पारेको स्वागत गीत सोही कार्यक्रममा पहिलोपटक बजाइने भएको छ। अन्त्यमा मोदीले महानगरपालिकाको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नेछन्। सामूहिक तस्वीरपछि कार्यक्रम सम्पन्न हुनेछ।

मोदीको अभिनन्दनका लागि महानगरपालिकाले १८ उपसमिति गठन गरेको छ। महानगरपालिकाका सहप्रवक्ता नमराज ढकालका अनुसार आगमनका लागि सडकहरूको सरसफाई गरिएको छ भने १२ वटा स्वागतद्वार बनाइएका छन्। १० वटा द्वार निजी क्षेत्रले बनाएका छन् भने सडकमा पर्ने आकाशे पुल पनि सम्बन्धित निकायबाटै रंगरोगन गरिएको उनको भनाई छ।

सडक आसपासमा पर्ने भत्किएका र फोहोर पर्खालसमेत रंगाइएका छन्। महानगरपालिकाले यसअघि नेपाल भ्रमणका आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई पनि नागरिक अभिनन्दन गरी काठमाडौंको साँचो बुझाएको थियो। जनप्रतिनिधि नभएको उक्त समयमा प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले मुखर्जीलाई महानगरको साँचो हस्तान्तरण गरेका थिए।