डोनाल्ड ट्रम्पले इमरानसँग भने: नरेन्द्र मोदी निकै क्रुर रहेछन - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

डोनाल्ड ट्रम्पले इमरानसँग भने: नरेन्द्र मोदी निकै क्रुर रहेछन



काठमाडौं- पाकिस्तानका प्रधानमन्त्री इमरान खान र अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पबीच सोमबार न्यूयोर्कमा भेट भएको छ । भेटअघि ट्रम्प र इमरान खानले पत्रकार सम्मेलनमा केही प्रश्नको जवाफ दिए ।

एक प्रश्नको जवाफमा ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार भएको हाउडी मोदी कार्यक्रममा ५९ हजार मानिस अघि निकै आक्रामक बयान दिएको बताए । उनले भनेका छन् ‘मोदीले निकै क्रुर भाषण गरे’ ।

उनले भनेका छन् ‘भारत र प्रधानमन्त्री मोदीको तर्फबाट हिजो निके आक्रामक बयान सुनियो र त्यहाँ नै उपस्थित थिएँ । मलाई थाहा थिएन कि मैले यस्तो बयान सुन्नेछु । त्यहाँ उपस्थित मानिसहरुलाई उक्त बयान राम्रो लाथ्यो तर यो निकै नै आक्रामक थियो ।’

नरेन्द्र मोदीले आइतबार ह्युस्टनमा भएको हाउडी मोदी कार्यक्रममा पाकिस्तानको नाम नलिई भनेका थिए, ‘भारतको निर्णय (कश्मीरमाथि) ले त्यो देशलाई समस्या भइरहेको छ जसले आफ्नो देश सम्हाल्न सकेका छैनन् । उनीहरु त्यस्ता देश हुन् जसले चरमपन्थलाई पालेका छन् ।’

ट्रम्पले पाकिस्तान र भारत सँगै हुने आशा व्यक्त गर्दै दुईले दुबै देशका लागि केही राम्रो कदम उठाउने बताएका थिए । आफूले हरेक कुराको समाधान भएको मान्यता राख्ने बताउँदै यसको पनि चाँडै नै समाधान हुने ट्रम्पले बताएका थिए ।

मध्यस्थता गर्न तयार

डोनल्ड ट्रम्पले एकपटक पुनः भारत र पाकिस्तान दुबैले चाहेको खण्डमा आफू कश्मीरको मुद्दामाथि मध्यस्ताका लागि तयार भएको दोहोराएका छन् ।

उनले भने, ‘यदि मलाई मध्यस्थताका लागि भनियो भने म तयार छु, गर्न चाहन्छु र यस्तो गर्न सक्षम पनि छु । यो निकै जटिल मुद्दा हो । यो मुद्दा लामो समयदेखि चलिरहेको छ । यदि दुई देश नै चाहन्छन् भने म मध्यस्थताका लागि तयार छु । तर भारत तयार हुन पनि आवश्यक छ ।’

जब एक पत्रकारले के उनी कश्मीरको वर्तमान मानवाधिकारको स्थितीको विषयमा चिन्तित छन् ? यसको जवाफमा उनले भने, ‘हो, म चाहन्छु कि सबैकुरा ठिक होस् र सबैमाथि राम्रो व्यवहार गरियोस् ।’

ट्रम्पले पाकिस्तानले चरमपन्थसँग लड््ने विषयमा प्रगति गरेको बताएका छन् । उनले भने, ‘इमरान खान यो मामलामा प्रगति गर्न चाहन्छन् । यसको कुनै दोस्रो हल छैन । अर्कोतर्फ ऋण र गरिबीमात्रै छ ।’

ट्रम्पबाट इमरान के चाहन्छन ?

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले डोनल्ड ट्रम्प संसारको सबैभन्दा शक्तिशाली देशको नेतृत्व गर्ने बताएका छन् ।

उनले भने, ‘संसारको सबैभन्दा शक्तिशाली देशको एउटा दायित्व पनि हुन्छ । तपाईंले मध्यस्थताको प्रस्ताव गर्नुभएको थियो र तपाईंले यो पनि भन्नुभएको थियो कि यसका लागि दुई देश नै तयार हुनुपर्छ । तर दुर्भाग्यले भारतले हामीसँग कुरा गर्न अस्विकार गर्छ । यो स्थितीमा मलाई लाग्छ कि यो एउटा ठूलो संकटको सुरुवात हो ।’

इमरान खानले भने, ‘इमान्दारितापूर्वक भन्ने हो भने कश्मीरको यो संकट निकै ठूलो हुनेछ । अमेरिका सबैभन्दा शक्तिशाली देश हो र यसले संयुक्त राष्ट्र सुरक्षा परिषदलाई प्रभावित गर्न सक्छ । त्यसकारण हामी चाहन्छौं कि अमेरिकाले यो मुद्दा उठाओस् ।’

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खान दुबै संयुक्त राष्ट्र महासभाको बैठकमा भाग लिन अमरिका पुगेका छन् ।

इमरान खानले यसअघि आफूले संयुक्त राष्ट्रका नेतासामू कश्मीरको मुद्दा उठाउने बताइसकेका छन् । एजेन्सी